काठमाण्डौँ । बन्दाबन्दी (लकडाउन) खुलेपछि नेपालमा संक्रमित संख्या बढेको छ। बन्दाबन्दी खुल्नु अगाडिको ११ दिनको अवधिमा ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गरिएको थियो भने एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।
बन्दाबन्दी खुलेको ११ दिनमा भने ५८ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या ३.६ प्रतिशत हो। मन्त्रालयको तथ्याङ्क अनुसार, बन्दाबन्दी खुुलेपछि ०.८ प्रतिशत संक्रमण बढेको छ।
मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ। विशेषगरी सामाजिक दुरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको छ। शनिबार मात्रै ३१५ जनामा संक्रमण पुष्ट भएको छ भने संक्रमित संख्या २० हजार ८६ पुगेको छ।