काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताएका छन ।
उनले संक्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखेका थिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढीरहेको उनको भनाइ छ ।
संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमै आइसोलेसनमा बस्न उनले अनुरोध गरेका थिए । संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह समेत गरेका छन् । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।