काठमाडौं । काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौंभित्र १६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गरिने भएको छ । भाडाका ट्याक्सीमा चालकसहित तीन जना र परिवारभित्रका ५ वर्षमुनीका बालबालिका २ जनासम्म राखेर चलाउन सकिनेछ । निजी सवारी साधन मोटरसाइकल, स्कुटरसमेत स्वास्थ्य मापदण्डअनुसार सञ्चालन हुनेछ ।
अत्यावश्यक वस्तु, सेवामध्ये औषधि र स्वास्थ्य सामग्री वितरण गर्ने पसललाई जुनसुकै समयमा खोल्न दिइनेछ । अत्यावश्क खाद्यान्न तथा दुध, दुधजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्री वितरण गर्ने पसल भने बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न दिइनेछ ।


