महादेबबेशी । संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा धादिङको थाक्रे गाउँपालिकाले नेपालको संविधान २०७२ मा उल्लेखित मौलिक हक र कर्तव्यको विषयमा एक दिने कार्यशाला गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सँघिय साँसद भूमि त्रिपाठीले संविधानमा उल्लेखित मौलिक हक र कर्तव्यका बारेमा कार्यक्रममा उपस्थितहरु लाई जानकारी गराउनु भएको थियो ।

गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का संघिय साँसद भूमि त्रिपाठी, नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल, जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी, नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त, थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेती, नेकपा थाक्रेका सचिव यन्त्र बहादुर थापा, विभिन्न वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, पत्रकार, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
यसै गरी कार्यक्रमका विचमा थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर ललितपुरको बागमती गाउँपालिका जान लाग्नु भएका शेषकान्त पौडेललाई विदाई तथा उद्योग मन्त्रालयबाट सरुवा भएर थाक्रे गाउँपालिका आउनु भएका प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साललाई स्वागत गरिएको थियो ।
२०७२ साल असोज ३ गते संविधानसभा मार्फत संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । नेपालको संविधान जारी भएको ५ वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण, संविधानले परिकल्पना गरे अनुसारको संघीय व्यवस्था कार्यान्वयनमा आएको छ ।