सन्तोष सुबेदी
धार्के । चन्द्रज्योती एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङको २६ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभ्य र समृद्ध समाज निर्माण, ग्रामिण समुदायमा पर्यटन प्रबद्र्धन तथा होमस्टे कार्यक्रम बिकास गरौँ भन्ने मूल नाराका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ को पर्यटकिय सम्भावना बोकेको पोखरीचौरमा साधारणसभा गरिएको हो ।
सिड्स नेपाल धादिङ २०५२ सालमा ९ जनाको समुहबाट सुरु गरिएको अभियान अहिले धादिङको थाक्रे, गल्छि, धुनिबेशी नगरपालिका केहि भागमा पनि बिभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ । समाजमा हुने गरेका विविध घटनाहरु बालबालिकामा हुने हिँसा, महिला हिँसा, अशिक्षा, गरिवी, बेरोजगारी लगायतका पक्षलाई सुधार गर्दै सबैसँग हातेमालो गर्दै आईरहेको सिड्स नेपाल धादिङले बिभिन्न अभियानहरु सफल पार्न विभिन्न सँस्थाको साझेदारीमा परियोजना गर्दै आईरहेको छ ।
अहिले सिड्स नेपाल धादिङले लैङ्गिक हिँसाबिरुद्धको कार्यक्रम, जोखिममा रहेका बालबालिकाहरुको लागी सुरक्षा परियोजना लगायत अन्य धेरै परियोजनाको माध्यमबाट समाजमा चेतनाको स्तर माथी उकासिरहेको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो ।
कोरोना भाइरस गाउँ गाउँमा आईसक्दा पनि यसबाट नडराई यसको सामना गर्न गाउँबस्तीमा संस्था पुगेको कार्यकारी निर्देशक रुपाखेतीको भनाई छ । उहाँले कोरोना माहामारीको यो बिषम परिस्थितीमा अग्र पँक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको लागी पिपिई सेट थाक्रे र गल्छि गाउँपालिकामा हस्तान्तरण गरेको बताउनुभयो । यो महामारीमा डाक्टर, नर्सहरु नै बढी जोखिममा हुने भएकाले यो सहयोग अपरिहार्य देखेको उहाँको भनाई थियो ।
यस्तै सिड्स नेपाल धादिङका अध्यक्ष माधव प्रसाद खतिवडाले सँस्थाको २६औँ बार्षिक उत्सव सम्म आईपुग्दा धेरै ब्यक्ति, संस्थाको सहयोग रहेका बताउनुभयो । कार्यक्रममा अध्यक्ष खतिवडाले कोरोना महामारिका समयमा पनि धेरै कामहरु भएको बताउनुभएको छ । संस्थाले शिक्षा, कृषि, स्वास्थ्य, पुर्बाधार बिकास, एचआईभि एड्स, पैरवी, उद्यम बिकास, मानव बेचबिखन बिरुद्ध, सुरक्षित आप्रवासन तथा शान्ति जस्ता बिषयगत क्षेत्रहरुमा लक्षित समुदायहरु, बालिका, महिला,सिमान्तकृत तथा जोखिममा रहेका बालबालिकाहरु रहेको अबस्थामा यसका बिरुद्धमा काम भईरहेका उहाँले बताउनुभयो ।
सिड्स नेपाल धादिङको अहिले सञ्चालनमा रहेका जोखिममा रहेका बालबालिकाहरुको लागी सुरक्षा परियोजनामा अहिले युनाईटेड मिसन टु नेपाल धादिङको सहयोगमा सञ्चालित छ । यस प्रोजेक्टमा बिषेशगरि बिद्यालय छाड्ने अबस्थामा पुगेका बालबालिकाहरु, बिद्यालय जान नसक्ने, अभिभावक बिहिन जस्ता बालबालिकाहरुको क्षेत्रमा रहेर काम गरिरहेको यस परियोजनाका संयोजक दिल बहादुर रम्तेलले बताउनुभयो । यो परियोजना अहिले धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ र मा ११ मा सञ्चालित रहेको छ । यस परियोजनाका लागी अँग्रेजी महिना जनवरी देखि डिसेम्बरसम्म रु ४० लाख ९६ हजार ५ सय ८८ बजटेको रहेको साधारणसभामा जानकारी गराईएको छ । यस परियोजनामा अहिलेसम्म ४ सय ८७ जना आबद्ध भएका छन् । यस परियोजना अन्तर्गत रहेर रेडियो कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।
साधारणसभा कार्यक्रममा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले संँस्थाले गरेका बिबिध कार्यका साथै आर्थिक प्रस्तुतीकरण पनि दिनुभएको छ । संस्थाले ९८ लाख ६० हजार ४ सय ८८ रुपैयाँ प्राप्त गरेकोमा खर्च रकम भने ९५ लाख ६५ हजार ३ सय १० रहेको छ । सिड्स नेपाल धादिङले आगामी आर्थिक वर्ष को लागी पनि बिभिन्न कार्यक्रमहरु प्रस्ताव गरिएको निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो ।
संस्थाको कार्यक्रमलाई मध्यनजर गर्दै पर्यटकिय स्थलको पनि प्रचार प्रसार होस् भन्ने हेतुले साधारणसभा कार्यक्रम धादिङ थाक्रे ५ नम्बरमा रहेको पर्यटकिय सम्भावना बोकेको पोखरीचौरमा आयोजना गरिएको थियो । यस क्षेत्रमा जान केहि कठिनाई भएपनि रमणीय दृश्यावलोकन गर्न सकिने छ । पोखरेचौरको चुचुरोबाट, काठमाण्डौको केहि भाग, मकवानपुर, नुवाकोट लगायतका जिल्ला सहित हिमालहरु देख्न सकिन्छ । यसैको प्रचार प्रसारको लागी पनि यो कार्यक्रम पोखरीचौरमा आयोजना गरिएकोमा जिल्ला समन्वय समिती धादिङकी सदस्य उर्मिला रेग्मी रुपाखेती सँस्थालाई धन्यवाद दिनुभयो ।
कार्यक्रम अवधीभर विभिन्न प्रतियोगिताको आयोजना पनि भएको थियो । कार्यक्रममा सँस्थाका पदाधिकारी सहित जनप्रतिनिधी लगायत सहभागी भएका थिए ।