धादिङ । नेपालका विभिन्न जिल्लामा थप ७३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १३ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
केही सातायता दैनिक हुने परीक्षणको सङ्ख्या घटे पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ। मन्त्रालयका अनुसार ५,५५५ जनाको परीक्षण गर्दा १३.२५ प्रतिशतमा कोभिड १९ पुष्टि भएको हो। यो वृद्धिसँग देशभरि सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नाघेको छ। मृतकको सङ्ख्या १,७४३ छ।
मन्त्रालयका अनुसार थप ८४७ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको सङ्ख्या २,३८,५६९ पुगेको छ। अहिले देशभरि ९,७५७ जनामा सक्रिय सङ्क्रमण भएको र तीमध्ये काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या त्यसको आधाभन्दा बढी रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।