काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न खाले संघर्षका कार्यक्रम गर्दै आएको यो पक्षले अहिले काठमाडौंका विभिन्न ९ ठाउँबाट जुलुस निकालेको छ। जुलुसहरुको नेतृत्व गर्न स्थायी कमिटी सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरुको नाम तोकिएको छ।

सबै जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत भइरहेको छ। त्यसपछि उक्त जुलुस रत्नपार्क,बागबजार,पुतलीसडक,प्रदर्शनी मार्ग,भद्रकाली,सहिदगेट,एनएसी,भोटाहिटी,रत्नपार्क,विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने बताइएको छ। सभालाई सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले सम्बोधन गर्नेछन्।