सिम्ले । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको सिम्ले महाकाली बहुमुखी क्याम्पसले विद्यार्थी भर्ना अभियान सम्बन्धि सरोकारवालाहरु विच छलफल कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा व्यवस्थापन र शिक्षा शास्त्र संकायमा नयाँ भर्ना खुलिरहेको जानकारी गराउँदै सरोकारवालाहरु विच सोमबार सिम्लेमा छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले क्याम्पसलाई दुई सिफ्टमा सञ्चानल गर्नु पर्ने बताउनुभएको छ । क्याम्पस भवन आसपास तारबार र प्राङ्गणमा टायल राख्न गाउँपालिकाले आर्थिक सहयोग गर्ने उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष आचार्यले क्याम्पस व्यवस्थापन समितिले निःशुल्क गर्ने भनेको भर्ना अभियानलाई समुदायस्तरमा लैजान समेत आग्रह गर्नु भएको छ ।
यस्तै कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलराम लम्सालले क्याम्पसमा विद्यार्थी संख्या न्यून रहेकाले विद्यार्थी संख्या बढाउन सबै जना लाग्नु पर्ने आबश्यकता रहेको औँल्याउनुभएको छ । उहाँले पालिका उपाध्यक्ष नै क्याम्पसको अध्यक्ष हुनु भएकाले व्यवस्थापन समेत राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ ।
छलफल कार्यक्रममा बोल्नु हुँदै समाजसेवी गोकर्ण रुपाखेतीले दैनिक पढ्ने विद्यार्थीहरुलाई केहि सिप र तालिमको व्यवस्था गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सहभागी विभिन्न वडाका वडा अध्यक्षहरुले क्याम्पसको अध्ययन र अध्यापन गुणस्तर बनाउन आफुहरुको तर्फबाट सहयोग रहने बताउनु भएको छ ।
थाक्रे गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष अम्बिका रुपाखेतीले क्याम्पसलाई उद्योगका रुपमा विकास गर्नु पर्ने र यो शैक्षिक सत्र देखि चलायमान बनाउने उद्देश्यका साथ छलफल कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । एक विद्यार्थी एक उद्यमी बनाउने उद्देश्य समेत क्याम्पसको रहेको उहाँको भनाई छ । अध्यक्ष रुपाखेतीले क्याम्पसमा पुस्तकालयको स्थापना गरि विद्यार्थीहरुलाई निःशुल्क रुपमा पुस्तकको व्यवस्थापन गर्ने पनि बताउनु भएको छ ।
कार्यक्रममा विभिन्न सँघ सँस्थाका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विव्यस अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
क्याम्पसको भर्ना अभियान यहि फागुन २५ गते सम्म र कक्षा सञ्चालन २६ गते देखि हुने क्याम्पसका व्यवस्थापक कृष्ण प्रसाद अर्यालले बताउनुभयो ।