धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने चेतावनी दिएका छन् । आज बेलुका ५ बजेसम्म अन्य दलहरुले नयाँ सरकार गठन गर्न नसके आफू फेरी प्रधानमन्त्री हुने र त्यो बेला विश्वासको मत नपाएमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने चेतावनी दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेको समय शुक्रबार बेलुका ५ बजे सकिँदै छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सो समयभित्र अन्य दललाई वैकल्पिक सरकार बनाउन नभए आफूलाई समर्थन गर्न आह्वान गर्दै यति दुवै हुन नसकेपछि आफू फेरी प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताए । नयाँ प्रधानमन्त्री बनेपछि आफू विश्वासको मत माग्न संसदमा जाने र विश्वासको मत नपाएमा संसद विघटन गरेर चुनावमा जाने चेतावनी दिए ।
‘त्यसो अबस्थामा फेरी प्रतिनिधिसभा विघटन ग¥यो, चुनावमा गयो भनेर नभन्नुहोला’, उनले भने, ‘आफूले सरकार पनि बनाउन नसक्ने, मलाई विश्वासको मत पनि नदिने भएपछि अरु विकल्प बाँकी रहँदैन ।’