धादिङ। धादिङमा कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा.भुवन पौडेलले जानकारी दिनु भएको छ।
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले बताए ।
डा.पौडेलका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा.पौडेल बताएका छन् । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनको भनाइ छ ।