शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

नागरिक पाटी

३०, श्रावण २०७८
  • 3.9K
    SHARES
  • लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई शुक्रबार तीन बुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो । ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो ।

    images
    images


    उक्त कार्यदलमार्फत तयार गरिएको प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्व तर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।


    सङ्घीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ ।


    हाल कामपाले खुल्ला मञ्चबाट सञ्चालिन बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साबिक बमोजिम बसपार्कका रुपमा प्रयोगका लागि माग गरे पनि कामपाले त्यो सम्भव नहुने बताउँदै आएको छ ।


    प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी कामपाका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ । खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क गत वैशाख १६ बाट बन्द गरेको थियो । खुल्ला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन् । व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको कामपाको ६५ औँ कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

    यसैबीच कामपाले आगामी तिहारसम्ममा आफ्नो क्षेत्रका विभिन्न स्थानमा ८८ थान हाई मास्ट बत्ती जडान गर्ने भएको छ । मेयर उज्यालो कार्यक्रमअन्तर्गत कामपाको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक स्थान, उद्यान र सहरका भित्री स्थानमा रहेका बहाल र चोकहरुमा बत्ती जडान गरिने जनाइएको छ ।

    यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए । “अबको केही दिनभित्र जडान गर्ने कम्पनीसँग सम्झौता गरी आगामी भदौ दोस्रो साताबाट काम सुरु हुन्छ”, प्रमुख थापाले भने ।

    यो स्वचालित बत्ती हो, प्राकृतिक उज्यालो कम हन थालेपछि आफैं बल्ने आवश्यकता नभएको बेला आफैँ निभ्ने गर्दछ । आवश्यकता हेरी सहरको बाहिरी तथा खुल्ला स्थानमा १६ मिटरको पोल र मानिसको बस्ती नजिक भने १२ मिटरको पोलमा बत्ती जडान गरिनेछ । एक स्थानमा राखेको उक्त बत्तीले एक सय मिटरसम्म उज्यालो दिने बताइएको छ । यसअघि परीक्षणका लागि राष्ट्रिय सभागृहमा बत्ती जडान भइसकेको छ ।

    बत्ती जडान कार्य भएसँगै रातका समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजु लगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरू घटिरहेका छन् । यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १६:५९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology