गजुरीको कुपिण्डेमामा दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन
धादिङ । धादिङको गजुरी गाउँपालिका-७, कुपिण्डेमा ९ महिने दुग्ध उत्पादन नमुना कृषक पाठशालाको मंगलबार समापन गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) गोर्खा क्लष्टरले पाठशाला संचालन गरेको हो । गजुरी-७ र ८ नम्बर वडामा समूह बनाएर दुग्ध उत्पादन गर्दै आएका किसानलाई समेटेर पाठशाला संचालन गरिएको फ्यानसेप क्लस्टर इकाइ गोरखा प्राविधिक सहायक बलदेब सिंह महरले बताए ।

समापनमा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगाना, प्रमुख प्रशाकीय अधिकृत राजन घिमिरे, गजुरी ७ को वडा अध्यक्ष केशव अधिकारी गाउँ पुगेका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले किसानको माग अनुसार बजेट व्यवस्थापन गर्न गाउँपालिका सधैं तयार रहेको बताए । किसानले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पुर्याउन सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बस्नेतले बताए । कृषि क्षेत्रको विकासमा किसानको माग अनुसार काम गरेरै छोड्छौं, तपाईलाई आवश्यक परेका कुरा हामीलाई भन्नुहोस् अध्यक्ष बस्नेतले प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष ढुंगानाले किसानले उत्पादन गरेको दुध तथा कृषिजन्य उत्पादनको बजारीकरणमा थप सहयोग गरिने बताइन । उनले भने, उत्पादन गरेर मात्रै हुँदैन, बिक्री गर्न बजार चाहिन्छ, त्यसैले किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान कृषि एम्बुलेन्स नै संचालन गर्नेछ ।
पाइलोटिङको रुपमा नेपाल सरकारले ल्याएको यो परियोजनाले किसानको जिवनस्थर सुधारमा सहयोग पुगेको ढुंगानाले बताइन् । किसानको कार्यक्रममा गाउँ पुगेका प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेले पनि कृषि क्षेत्रको विकासको लागि गाउँपालिका तयार रहेको बताएका छन् ।
पाठशालामा किसानहरुलाई गोठ सुधार, घाँस व्यवस्थापन, औसधिउपचार, रोगका लक्षण, लगायत पशुपालनको लागि नया नया प्रबिधी जस्तै परालमा युरिया मलको घोल हालेर परालमा युरिया उपचार गरि उत्पादनमा बृदी हुने , प्राबिधिक ज्ञान सिकाइएको फ्यानसेपका पशुसेवा प्राविधिक एवं पाठशालाका प्रमुख सहजकर्ता बिष्णु कुमार श्रेष्ठले जानकारी गराए ।
पाठशालामा पशुपालन सम्बन्धि सीप सिकेका किसानहरु पनि खुसी भएका छन् । गजुरी-८ लामाचिराकी कृषक गिता थापाले खुसी व्यक्त गर्दै भनिन्, गोठ सुधार भयो । प्राबिधिक ज्ञान बढेको छ । परम्परागत पेसालाई नै व्यवसायिक बनाउन थालेका छौ । कृषिमै केही गर्न सक्छौ भन्ने विश्वास बढेको छ । व्यवासाय प्रवर्द्धनका लागि सरकारबाट वा संघ सस्थाबाट अझै सहयोगको अपेक्षा गरिएको उनले बताएकी छन् ।