निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइको काम सम्पन्न भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत जानकारी दिनुभयो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थाबाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले समेत निर्देशन दिएको छ ।
त्यस्तै, उपयुक्त कारण परेको अवस्था बाहेक कुनै कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ ।
प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको जानकारी गराउनुभयो ।