मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । एक बालिका घाइते अवस्थामा फेला परेकी छिन् भने अन्य दुईजना अझै बेपत्ता छन् ।
मंगलबार साँझ बासुदेवस्थित खहरे खोला तर्ने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो । उनीहरू निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा खोलामा बनेको लच्का तर्दै गर्दा बगेका थिए ।
खोजी तथा उद्धारका क्रममा बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा हेटौँडा–१९, बस्तीपुरकी आठ वर्षीया रोसनी स्याङ्तान फेला परेकी थिइन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, १३ वर्षीया सिमा भोलन आफैँ खोलाबाट निस्कन सफल भएकी छन् ।
हेटौँडा–१९, बस्तीपुरकै ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन भने अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।