धादिङ । रसुवाको भोटेकोसी नदीमा बुधबार (भदौ १०) बिहान आएको भीषण बाढीपछि धादिङ जिल्लामा हालसम्म २९ वटा शव फेला परेका छन्।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा बगेर आएका २९ शव फेला परेका हुन्। यद्यपि धादिङ जिल्लाभित्र भने कुनै मानवीय क्षति नभएको उनले जानकारी दिइन्।
बाढीले जिल्लाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। सदरमुकाम जोड्ने पुलसहित ६ वटा पक्की पुल र १२ वटा झोलुंगे पुल बगाएर कुल १८ वटा पुलमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताइन्।
त्यस्तै बाढीका कारण सडकमा ठूलो परिमाणमा लेदो र गेग्रान थुप्रिएपछि पृथ्वी राजमार्ग बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। राजमार्ग खुलाउन सम्बन्धित निकायले सडक सफाइ तथा अवरोध हटाउने काम गरिरहेका छन्।
बाढीपछिको खोज, उद्धार तथा क्षति विवरण संकलन कार्य जारी रहेको प्रशासनले जनाएको छ।