रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको आकस्मिक भीषण बाढीका कारण साँझसम्म ९५ जनाको मृत्यु भएको छ ।आकस्मिक आएको बाढीबाट रसुवा, नुवाकोट, चितवन, धादिङ लगायतका जिल्ला प्रभावित बनेका छन् ।
बाढी आएलगत्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकको जीवन रक्षाका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गर्ने र सो अनुरुप सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।
सरकारले बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।
निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले मिलाउने निर्णय भएको छ । बाढी पहिरोबाट घाइते एवम् विचल्लीमा परेका व्यक्तिहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ ।
यसका कार्यका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरको परिचालन गर्ने र गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकोप्टरसहित परिचालन गर्न निर्देशन दिने निर्णय भएको छ ।
घर तथा निवास गुमाएका व्यक्तिलाई सुरक्षित स्थानमा सारी खाने, बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाउने बताइएको छ ।