बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् ।
यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन् । यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन् ।
प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ः०० बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ ।