धादिङ । रसुवा बाढीका कारण प्रभावित बनेको बैरेनी अस्पतालको स्वास्थ्य सेवा नियमित सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले औषधि सहयोग गरिएको छ।
प्रयास नेपाल धादिङले कारितास नेपालको सहयोगमा विभिन्न २५० भन्दा बढी प्रकारका औषधि गरी ५ लाख ४४ हजार रुपैयाँ बराबरको औषधि गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडालाई हस्तान्तरण गरेको छ । भदौ १२ गते गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले उक्त औषधि अध्यक्ष खतिवडालाई हस्तान्तरण गर्नुभएको हो।
रसुवा बाढीका कारण बैरेनी अस्पतालको ग्राउन्ड फ्लोर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बाढीबाट अस्पतालको भौतिक संरचनासँगै औषधि तथा स्वास्थ्य सामग्रीमा समेत क्षति पुगेपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालनमा चुनौती उत्पन्न भएको थियो।
औषधि सहयोगले बैरेनी अस्पतालबाट दैनिक रूपमा प्रदान हुँदै आएको स्वास्थ्य सेवा सञ्चालनमा ठूलो सहयोग पुगेको गल्छी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज रेग्मीले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा आवश्यक औषधि उपलब्ध भएपछि सेवाग्राही नागरिकलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको छ।
स्थानीय नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य शाखाबाट गरिएको अनुरोधका आधारमा तत्काल आवश्यक औषधि सहयोग गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।
“विपद्का कारण स्वास्थ्य सेवा प्रभावित भएका अवस्थामा नागरिकलाई आवश्यक स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी हो। स्वास्थ्य शाखाको अनुरोधअनुसार तत्काल आवश्यक औषधि सहयोग गरेका हौँ,” अर्यालले भन्नुभयो।
प्रयास नेपालले विपद्का समयमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य तथा अन्य अत्यावश्यक सेवामा सहयोग गर्दै आएको जनाएको छ। उक्त औषधि सहयोगले बैरेनी अस्पतालको नियमित सेवा प्रवाहलाई थप सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।