धादिङ, ११ कात्तिक २०८३। धादिङको गंगाजमुना गाउँपालिकामा उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत तरकारी खेती तथा बाख्रापालन कृषक पाठशाला सञ्चालन गर्ने अगुवा कृषकहरूबीच समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ।
क्यानेडियन फुडग्रेन्स बैंक तथा आड्रा नेपाल आर्थिक प्राविधिक सहयोग र प्रयास नेपाल, धादिङको साझेदारीमा सञ्चालित उक्त परियोजना अन्तर्गत गंगाजमुना गाउँपालिकामा तरकारी खेती तथा बाख्रापालनसम्बन्धी ४६ वटा समूहमा जलवायु कृषक पाठशाला कक्षा सञ्चालन भइरहेका छन्।
बैठकमा जलवायु कृषक पाठशाला सञ्चालनका क्रममा गरिएका गतिविधिहरूको समीक्षा, प्राप्त उपलब्धि, सिकाइ तथा अनुभव आदानप्रदान गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने गतिविधिहरूको योजना निर्माणका विषयमा छलफल गरिएको थियो। अगुवा कृषकहरूले पाठशाला सञ्चालनका क्रममा प्राप्त अनुभव र सिकाइ साझा गर्दै कृषक पाठशालालाई थप प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा प्रयास नेपाल, धादिङका फिल्ड संयोजक प्रतीक अवस्थी र लैङ्गिक एसोसिएट शर्मिला गुरुङले परियोजना अन्तर्गत सञ्चालित जलवायु कृषक पाठशालाका गतिविधि तथा तिनको महत्त्वबारे जानकारी गराउनुभएको थियो।
समिक्षा बैठकमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले कृषक पाठशाला मार्फत कृषकहरूको व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सुधारिएको कृषि प्रविधि र पशुपालन अभ्यासको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यसबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, जलवायु उत्थानशील जीविकोपार्जन र खाद्य सुरक्षा सुदृढीकरणमा योगदान पुगेको बताउनु भयो ।

रिलिफ परियोजनाले स्थानीय कृषकहरूको जीविकोपार्जनमा सुधार ल्याउन तथा दिगो कृषि प्रणालीको विकास गर्न स्थानीय सरकार, कृषक समूह र सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको पनि निर्देशक अर्यालले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत सुदीप डुंगाना, वडा नं. ५ का अध्यक्ष कुमारबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो।