दशैं भर्खरै सकियो। हरेक साल दशैं आउँछ र जान्छ, तर कतिपयलाई दशैंले खुशीसँगै पिर दिएर जाने यथार्थ कसैका सामु छिपेको छैन। "अचानोको पिर खुकुरीलाई के थाहा ?" भनेझैँ धेरैलाई निम्न वर्गीय समाजको पीडा याद हुँदैन। दशैंको रमझमसँगै सबैले यी कुरा भुल्छन् ।
नेपाली समाजमा दशैँ पर्वबारे टिप्पणी गर्दा अधिकांशले उद्धृत गर्ने एउटा प्रचलित उखान हो ‘आयो दशैँ ढोल पिटाई, गयो दशैँ ऋण बोकाई।’ यो उखान रमाइलोका लागि मात्रै भनिएको होइन। यसभित्र नेपाली समाजको एउटा तीतो आर्थिक यथार्थ लुकेको छ।
धुमधाम, हर्षोल्लास र उत्साहकासाथ आउने दशैँले कतिपय परिवारको हकमा भने घरमा भएको अन्नपात, सञ्चित रकम र थोरै बचतसमेत सिध्याएर जान्छ। कतिलाई त ऋणको थप भारी बोकाएर जान्छ।
यसर्थ दशैँ सबैकालागि समान रूपमा खुसी बोकेर आउँदैन। कसैका लागि यो नयाँ कपडा, मीठोमसिनो भोजन, पारिवारिक जमघट, घुमफिर र मनोरञ्जनको अवसर हो भने कसैका लागि कसरी मनाउने, खर्च कसरी जुटाउने र चाडपर्वपछि लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताको अर्को नाम हो दशैं ।
हाम्रो महान् सांस्कृतिक पर्व सबैका लागि उत्सव बन्न सकेको छैन , बरु आर्थिक हैसियत अनुसार खुसी र पीडा बाँड्ने माध्यम पनि बन्दै गएको छ ।
सचेत नागरिक, समाज र सरकारको निम्ति यहीँनेर एउटा गम्भीर प्रश्न उब्जिन्छ, उब्जिएको छ ।
हुनेखानेका लागि उत्सव, हुँदा खानेकालागि चुनौती :
दशैँको आगमनसँगै बजारमा चहलपहल बढ्छ । नयाँ लत्ताकपडा किन्ने, घर सजाउने, मीठो खाने, आफन्तलाई उपहार दिने र घुमफिरमा निस्कने क्रम चल्छ । आर्थिक रूपमा सम्पन्न परिवारका लागि यी गतिविधि सामान्य र सहज हुन सक्छन् । हुनेखानेकालागि दशैँ नयाँ गाडी किन्ने, महँगा सामान खरिद गर्ने, ब्रान्डेड कपडा लगाउने र आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने मौका समेत बन्ने गरेको छ।
तर यही समाजमा दिनभरि ज्याला मजदुरी गरेर मुस्किलले दुई छाक टार्ने परिवार पनि छन्। वर्षभरि श्रम गर्दा पनि बचत गर्न नसक्ने किसान, निर्माण मजदुर, भरिया, घरेलु श्रमिक र अनौपचारिक क्षेत्रमा काम गर्नेहरूकालागि दशैँको आगमनसँगै खर्चको सूची लामो हुन्छ, तर आम्दानीको स्रोत उही रहन्छ।
घरमा बालबालिका छन् भने उनीहरूका लागि नयाँ कपडाको अपेक्षा हुन्छ। आफन्त भेट्न जाँदा र घरमा पाहुना आउँदा सत्कार गर्नुपर्ने हुन्छ। चाडपर्वमा मीठोमसिनो खान मन लाग्नु स्वाभाविक हो। तर इच्छाहरू पूरा गर्न आवश्यक पैसा नहुँदा अभिभावकले भोग्ने मानसिक तनाव बाहिरबाट देखिँदैन।
कतिपय अभिभावक छोराछोरीलाई नयाँ कपडा दिन नसक्दा मनमनै दुःखी हुन्छन्। कसैले साहुबाट ऋण लिन्छन्, कसैले विदेश वा सहरमा काम गर्ने छोराछोरी तथा दाजुभाइले पैसा पठाइदिने आशा गर्छन्। कसैले घरमा भएको अन्नपात बेचेर खर्च जुटाउँछन्। अनि दशैँ सकिएपछि मानसिक तनाव सुरु हुन्छ र ऋण तिर्ने अर्को संघर्षमा होमिनुपर्छ।
यसरी हेर्दा सम्पन्न परिवारले दशैँमा थप सुविधा र मनोरञ्जन प्राप्त गरिरहेका बेला विपन्न परिवारले भने आफ्नो सीमित आयबाट सामाजिक अपेक्षाहरू पूरा गर्नुपर्ने दबाब खेपिरहेका हुन्छन्। एउटै पर्वको उज्यालोभित्र कसैको सम्पन्नता चम्किरहेको हुन्छ, कसैको अभाव झन् प्रस्ट देखिइरहेको हुन्छ।
दशैँको नाममा सामाजिक दबाब र देखासिकी :
गरिबीको पीडा खाली पैसा नहुनुमा मात्र सीमित छैन। समाजमा आफ्नो इज्जत जोगाउनुपर्ने दबाबले त्यसलाई अझ जटिल बनाउँछ। दशैँमा नयाँ लुगा लगाउनैपर्छ, घरमा मासुभात पाक्नैपर्छ, आफन्तलाई राम्रोसँग सत्कार गर्नैपर्छ र अरूहरुले जस्तै रमाइलो गर्नैपर्छ भन्ने सोच समाजमा बलियो छ।
यीमध्ये धेरै कुरा आफैँमा गलत त होइनन्। तर समस्या त्यतिखेर सुरु हुन्छ, जब सामान्य इच्छाहरू सामाजिक प्रतिष्ठाको प्रश्न बन्छन् र आफ्नो आर्थिक अवस्थाले धान्न नसक्ने खर्च गर्न मानिस बाध्य हुन्छ।
छिमेकीले नयाँ लुगा किनेपछि आफूले पनि किन्नुपर्ने, आफन्तले महँगो उपहार दिएपछि आफूले पनि त्यस्तै दिनुपर्ने, अरूको घरमा मीठोमसिनो पाकेको देखेपछि आफ्नो घरमा पनि त्यस्तै हुनुपर्ने मानसिकता बढ्दै गएको छ। सामाजिक सञ्जालमा देखाइने महँगा किनमेल, घुमफिर र विलासी जीवनशैलीले पनि यस्तो प्रतिस्पर्धालाई थप प्रोत्साहन गरेको छ ।
परिणामतः चाडपर्व मनको खुसी बाँड्ने अवसरबाट अरूलाई आफ्नो हैसियत देखाउने प्रतिस्पर्धामा रूपान्तरण हुन थाल्छ। हुनेखानेले स्वेच्छाले गरेको खर्च पनि समाजमा नयाँ मानक बन्न पुग्छ, जसलाई विपन्न परिवारले आफ्नो क्षमताविपरीत पछ्याउन खोज्छन्।
यहाँनेर प्रश्न उठ्छ, आफ्नो आर्थिक अवस्थाले नधान्ने खर्च गरेर अरूका अगाडि इज्जत जोगाउनु कति आवश्यक छ ? अनि ऋण लिएर केही दिनको देखावटी खुसी किन्नु र महिनौँसम्म आर्थिक तनावमा बाँच्नु कति विवेकपूर्ण हुन्छ ? हरेक सचेत नागरिक र समाजले सोच्नुपर्ने कुरा हो ।
बुझ्नुपर्ने कुरा यो हो की मान्छेको इज्जत महँगो लुगामा होइन, उसको श्रम, इमानदारी, व्यवहार र मानवीय सम्बन्धमा हुन्छ। चाडपर्वको वास्तविक सुन्दरता खर्चको आकारमा होइन, मनको आत्मीयतामा खोजिनुपर्छ।
महँगीको मार र ऋणको चक्र :
दशैँको समयमा बजारमा माग बढ्छ। खाद्यान्न, तरकारी, माछामासु, लत्ताकपडा तथा अन्य उपभोग्य वस्तुको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवारलाई थप कठिनाइ हुन्छ । बजारमा मूल्यवृद्धि हुँदा सम्पन्न परिवारले आफ्नो खर्चको योजना केही परिवर्तन गर्न सक्छन्, तर न्यून आय भएका परिवारसँग खर्च घटाउने विकल्पसमेत सीमित हुन्छ।
आम्दानीको ठूलो हिस्सा खानपान, घरभाडा, शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकतामै खर्च हुने परिवारकालागि दशैँको अतिरिक्त खर्च धान्नु सजिलो हुँदैन । वर्षभरि बचत गर्न नसकेको परिवारले चाडपर्वका निमित्त छुट्टै रकम कहाँबाट ल्याओस् ?
यस्तो अवस्थामा ऋण नै तत्कालीन उपाय बन्न सक्छ। तर ऋण लिएर मनाइएको दशैँको मूल्य चाड सकिएपछि चुकाउनुपर्छ। ज्यालामजदुरी गरेर जीविका चलाउने मानिसले ऋण तिर्न अतिरिक्त काम गर्नुपर्छ, अन्य आवश्यकता कटौती गर्नुपर्छ वा फेरि अर्को ऋण लिनुपर्ने अवस्था आउन सक्छ।
हुनत चाडपर्वको खर्चले गरिबी सिर्जना गर्छ भन्नु पूर्ण सत्य नहोला, तर पहिलेदेखि नै आर्थिक संकटमा रहेका परिवारको ऋणभार बढाउन र उनीहरूको कमजोर आर्थिक अवस्थालाई थप असुरक्षित बनाउन भने सक्छ। दशैँको खर्च र गरिबीबीचको सम्बन्धलाई यही यथार्थबाट बुझ्न आवश्यक छ।
गरिबीको वास्तविक कारण दशैँ होइन । मूलतः रोजगारीको अभाव, न्यून ज्याला, उत्पादनशील अवसरको कमी, असमान आयवितरण, महँगी र सामाजिक सुरक्षाको अपर्याप्तताजस्ता संरचनात्मक समस्याले गरिबीलाई निरन्तरता दिन्छन्। दशैँ खासमा वर्षभरि लुकेको अभावलाई एकैपटक सतहमा ल्याइदिने ऐनाजस्तै हो।
के दशैँ गरिबका लागि बोझ मात्र हो?
दशैँका नकारात्मक पक्षमाथि चर्चा गर्दा यसको सांस्कृतिक, सामाजिक र भावनात्मक महत्त्वलाई बिर्सन मिल्दैन। दशैँ आफैँमा गरिबी, विभेद वा आर्थिक बोझको पर्व होइन। यसको नाममा विकसित भएको अनावश्यक तडकभडक, देखासिकी र खर्चिलो सामाजिक संस्कारले यसलाई बोझिलो बनाएको हो।
दशैँ खासगरी परिवारसँग भेटघाट गर्ने, टाढिएका आफन्तसँग सम्बन्ध नवीकरण गर्ने, मान्यजनबाट आशीर्वाद लिने र पुस्ताबीच सांस्कृतिक परम्परा हस्तान्तरण गर्ने महत्त्वपूर्ण अवसर पनि हो । रोजगारीका खातिर गाउँबाट सहर पसेका, विदेश पुगेका वा वर्षभरि परिवारबाट टाढा रहेका मानिसहरू यही समयमा घर फर्किने गर्छन्।
परिवारका सबै सदस्य एकै ठाउँमा बसेर सुखदुःख साटासाट गर्नु, बालबालिकाले हजुरबा–हजुरआमासँग समय बिताउनु, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्नु तथा आफन्तबीच आत्मीयता बढ्नु दशैँका अमूल्य पक्ष हुन्। यस्ता खुसी पैसाले किन्न सकिँदैनन्।
आर्थिक रूपमा कमजोर परिवारका लागि पनि दशैँमा परिवारसँग भेट हुन पाउनु, घरआँगनमा आफन्तको चहलपहल देख्नु र उपलब्ध स्रोतसाधनमै रमाउनु ठूलो सन्तोषको विषय हुनसक्छ। त्यसैले गरिबकालागि दशैँ दुःख मात्र होइन, यसले प्रेम, आत्मीयता, सम्झना र आशा पनि बोकेर ल्याउँछ।
तर विडम्बना के छ भने त्यही आत्मीयतालाई टिकाइराख्ने नाममा अनावश्यक खर्च गर्नुपर्ने दबाब सिर्जना भयो भने खुसीसँगै पीडा पनि थपिन्छ। चाहिएको चाड र नचाहिएको खर्च एकैसाथ आउँदा दशैँ विपन्न परिवारका लागि मिश्रित अनुभूति बन्न पुग्छ।
नेपाली पहिचान र राष्ट्रिय एकताको पर्व :
दशैँ नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। यसले परिवार, आफन्त र समुदायबीच सम्बन्ध जोड्ने काम गर्छ। देशभित्र मात्र होइन, विश्वका विभिन्न मुलुकमा रोजगारी, अध्ययन र व्यवसायका लागि पुगेका नेपालीहरू पनि दशैँको अवसरमा घर फर्किने वा जो जहाँ छन्, त्यहीँ आफ्नो परम्पराअनुसार पर्व मनाउने प्रयास गर्छन्।
भौगोलिक दूरीले छुट्टिएका नेपालीलाई भावनात्मक रूपमा जोड्न दशैँले महत्त्वपूर्ण भूमिका खेल्छ। परम्परा, पारिवारिक सम्बन्ध, मान्यजनप्रतिको सम्मान र सांस्कृतिक निरन्तरताका दृष्टिले यसको महत्त्व कम आँक्न मिल्दैन।
यद्यपि नेपाली समाज विविध जातजाति, भाषा, धर्म र संस्कृतिले बनेको छ। त्यसैले दशैँको सांस्कृतिक महत्त्वलाई स्वीकार गर्दा सबै नेपालीको धार्मिक तथा सांस्कृतिक अभ्यासप्रति समान सम्मान राख्नु पनि उत्तिकै आवश्यक छ। कुनै पर्वको गौरव त्यसलाई कति खर्चिलो बनाइयो भन्ने कुराले होइन, त्यसले मानिसहरूबीच कति आत्मीयता, सद्भाव र मानवीयता बढायो भन्ने कुराले पनि निर्धारण गर्छ।
दशैँको मौलिकता जोगाउनु भनेको यसलाई विलासी बनाउनु होइन, यसको मानवीय र सांस्कृतिक मूल्यलाई जीवन्त राख्नु हो।
किनमेलको पर्व कि आत्मीयताको उत्सव?
दशैँसँगै बजारमा किनमेलको चहलपहल बढ्नु स्वाभाविक हो। यसले व्यापार, यातायात, पर्यटन, होटल व्यवसाय, मनोरञ्जन र अन्य आर्थिक गतिविधिलाई गति दिने गरेको छ। व्यापारीकालागि दशैं आम्दानी बढाउने अवसर हो भने कामदार र सेवा प्रदायकका लागि अतिरिक्त काम प्राप्त हुने समय पनि हो ।
तर उपभोग र आवश्यकताबीचको सन्तुलन हराउँदै जाँदा दशैँ अत्यधिक खर्चिलो बन्दै गैरहेकोछ। आवश्यक सामान किन्नु र अरूलाई देखाउनकै लागि सामान थुपार्नु फरक कुरा हुन्। परिवारको क्षमताअनुसार पर्व मनाउनु र सामाजिक प्रतिस्पर्धामा उत्रिएर ऋण लिनु पनि फरक कुरा हुन्।
चाडपर्वमा खर्च हुनु आफैँमा खराब होइन। समस्यात अनुत्पादक प्रतिस्पर्धा, अनावश्यक विलासिता र आर्थिक क्षमताभन्दा बाहिरको खर्चमा छ। बजारको चहलपहल बढ्नु अर्थतन्त्रका लागि सकारात्मक हुन सक्छ, तर त्यसको भार न्यून आय भएका परिवारले ऋणका रूपमा बोक्नुपर्ने अवस्था सुखद होइन।
त्यसैले दशैँलाई किनमेल र प्रदर्शनको पर्वबाट आत्मीयता, सहकार्य र खुसी बाँड्ने उत्सवका रूपमा विकसित गर्न आवश्यक छ। सम्पन्न परिवारले आफ्नो खुसी मनाउँदा अरूको अवस्थाप्रति संवेदनशील हुन सके, समाजमा खर्चको अस्वस्थ प्रतिस्पर्धा कम गर्न मद्दत पुग्न जान्छ । आगामी दिनमा यसतर्फ सबैको ध्यान जानु राम्रो हुनेछ ।
समाधानको बाटो : सादगी, संवेदनशीलता र राज्यको जिम्मेवारी :
दशैँलाई सबैकालागि सुखद बनाउन पहिलो आवश्यकता सोचमा परिवर्तन हो। पर्व मनाउने शैली व्यक्तिको आर्थिक क्षमताअनुसार हुनुपर्छ। ऋण गरेर अरूलाई देखाउनुभन्दा उपलब्ध साधनमा खुसी मनाउनु उचित हुन्छ। नयाँ कपडा, महँगो भोजन वा ठूलो जमघट नै दशैँको अनिवार्य सर्त होइन भन्ने सामाजिक चेतना विकास गर्नुपर्छ।
अभिभावकले पनि बालबालिकालाई अरूसँग तुलना गरेर होइन, आफ्नो परिवारको अवस्था बुझेर खुसी हुन सिकाउनुपर्छ। आफन्त र छिमेकीले उपहार, कपडा वा भोजका आधारमा मानिसको आर्थिक हैसियत मूल्याङ्कन गर्ने प्रवृत्ति त्याग्नुपर्छ। कसैले सादगीपूर्वक पर्व मनायो भन्दैमा उसको सम्मानमा कमी आउनु हुँदैन।
सम्पन्न परिवार, सामाजिक संस्था र समुदायले पनि पर्वको अवसरमा विपन्न, असहाय, ज्येष्ठ नागरिक, एकल महिला तथा श्रमजीवी परिवारलाई सहयोग गर्न सक्छन्। तर सहयोग गर्दा उनीहरूको आत्मसम्मानमा चोट नपुग्ने, वास्तविक आवश्यकता सम्बोधन हुने र देखावटी प्रचारभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिने संस्कार बसाल्नुपर्छ।
त्यस्तै, सरकारले चाडपर्वको समयमा बजार अनुगमन प्रभावकारी बनाउन, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न, उपभोक्ता ठगी रोक्न तथा खाद्यान्न र अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ। विपन्न परिवारका लागि सामाजिक सुरक्षा, लक्षित राहत, रोजगारीका अवसर र श्रमिकको उचित ज्यालासम्बन्धी व्यवस्था प्रभावकारी बनाउनुपर्छ।
तर दीर्घकालीन समाधान चाडपर्वमा राहत बाँड्नुमा मात्र सीमित छैन। गरिब परिवारले दशैँका लागि ऋण लिनुपर्ने अवस्था नआओस् भन्नका लागि वर्षभरि नियमित रोजगारी, सम्मानजनक आम्दानी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको सुनिश्चितता आवश्यक छ। अन्यथा नागरिकको जीवनस्तर सुधार्ने नीतिबिना हरेक वर्ष आउने दशैँमा गरिबीको यही कथा दोहोरिरहनेछ।
निष्कर्ष : दशैँको खुसी खर्चले होइन, आत्मीयताले नापौँ :
दशैँ हाम्रो सांस्कृतिक सम्पदा हो, यसलाई गरिबीको पर्याय बनाउनु हुँदैन। पर्वको नाममा हुने अनावश्यक खर्च र देखासिकीलाई निरुत्साहित गर्नु भनेको दशैँको विरोध गर्नु होइन बरु यसको वास्तविक मर्म जोगाउनु हो।
दशैँको खुसी नयाँ कपडाको मूल्यमा, घरमा पाक्ने परिकारको संख्यामा, दिइने उपहारको महँगोपनमा वा घुमफिरको खर्चमा खोज्ने हो भने आर्थिक रूपमा कमजोर परिवार सधैँ पछाडि पर्नेछन्। तर खुसीलाई परिवारको भेटघाट, मायाको आदानप्रदान, मान्यजनको आशीर्वाद, दुःखमा साथ र उपलब्ध साधनमा सन्तुष्टि खोज्ने हो भने दशैँ सबैको साझा पर्व बन्न सक्छ।
धनीले खर्च गर्न पाउनु उसको अधिकार हो, तर उसको खर्च समाजमा अरूका लागि बाध्यकारी मापदण्ड बन्नु हुँदैन। गरिबले सादगीपूर्वक पर्व मनाउनु उसको विवशता मात्र नभई विवेकपूर्ण छनोट पनि हुन सक्छ। समाजले यही छनोटलाई सम्मान गर्न सिक्नुपर्छ।
राज्यले महँगी नियन्त्रण, रोजगारी सिर्जना र सामाजिक सुरक्षामार्फत नागरिकको जीवन सहज बनाउनुपर्छ। समाजले देखासिकी र प्रतिष्ठाको अस्वस्थ प्रतिस्पर्धा त्याग्नुपर्छ। व्यक्तिले आफ्नो क्षमताअनुसार पर्व मनाउँदै अरूको अवस्थाप्रति संवेदनशील हुनुपर्छ।
किनभने दशैँको वास्तविक अर्थ कसैको घरमा कति मासु पाक्यो, कसले कति महँगो कपडा लगायो वा कसले कति खर्च गर्यो भन्ने होइन। दशैँको सार त कसैको चुलो निभेको छैन, कसैको बालबालिका अभावले रोइरहेका छैनन्, कसैले सामाजिक इज्जत जोगाउन ऋण लिनुपरेको छैन र कसैले चाडपर्वकै कारण भोक, अपमान तथा मानसिक तनाव भोग्नुपरेको छैन भन्ने सुनिश्चिततामा छ ।
जुन समाजमा सम्पन्न मानिसको खुसीले विपन्न मानिसको मनमा हीनताबोध होइन, आत्मीयता जगाउँछ, जहाँ पर्वले ऋणको तनाव होइन बरु सम्बन्धको न्यानोपन थप्छ र जहाँ चाडपर्वमा कसैलाई आफ्नो गरिबी लुकाउन बाध्य हुनुपर्दैन, हो त्यही समाजमा दशैँ साँच्चिकै सबैको महान् पर्व बन्नेछ।
दशैँ आउँदा गरिबको घरमा पनि खुसी आओस्, चाड सकिँदा ऋणको भारी नथपियोस् । दशैँको उज्यालो धनीका महलमा मात्र होइन, गरिबका झुपडीमा पनि समान रूपमा चम्कियोस् । यही नै समतामूलक समाजको चाहना र दशैँको वास्तविक मर्म हो।