आजकाल युवा पुस्ताका सबैले सामना गरिरहेको प्रश्न छ—‘के जोड्यौ ? अनि कति कमायौ ?’ यो प्रश्न नेपाली समाजमा अहिले भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको छ, फैलिरहेको छ।
गाउँदेखि सहरसम्म, स्वदेशदेखि विदेशसम्म सबैले सबैलाई सोधिरहने साझा प्रश्नका रूपमा यो स्वीकार्य र लगभग स्थापित नै भइसकेको छ। जहाँ पुगेको भए पनि एउटा नेपालीले अर्को परिचित नेपाली भेट्नेबित्तिकै गर्ने मुख्य प्रश्न नै यही हो।
चाहे तपाईं मामाघर जानुस् या ससुराली ! माइती, आफन्त, इष्टमित्र, साथीभाइ जसलाई भेट्नुस्, तपाईंलाई दोहोर्याई–तेहेर्याई हरेक भेटमा पटक–पटक सोधिन्छ—जग्गा जोड्यौ ? घर बनायौ ? कति कमायौ ?
चोक, चौतारा, चिया पसल जहाँ जानुस्, कहीँकतै एकैछिन बस्न पाएको हुँदैन, फुत्त उही कुरा निस्किन्छ—पैसा ! कमाइ ! सम्पत्ति !
नेपाली युवाहरू, खासगरी २५ वर्षदेखि ४०–४५ वर्षसम्मका प्रायः पुरुषहरूले सामना गरिरहेको सवाल, समस्या र सन्दर्भ हो यो। सामान्यतया यी प्रश्नहरूको उत्तर नदिईकन उम्किने धर यो उमेर समूहलाई छैन। यसबाट भाग्नु भनेको समाजको मूल प्रवाहबाट बाहिरिनु, एक्लिनु वा असफल हुनुजस्तो देखिन्छ, बुझिन्छ।
अतः कमाउने र जोड्ने कुरा अहिले हरेक युवाको पारिवारिक जिम्मेवारी मात्रै रहेन । अब व्यक्तिगत इज्जत र प्रतिष्ठासँग जोडिएर आउन थालेको छ। सामाजिक हसियतको मापदण्ड बनेर गणना हुन थालेको छ । व्यक्तिको सफलता नै मनग्गे कमाउनु र सम्पत्ति थुपार्नु हो भन्ने भाष्य समाजमा जबर्जस्ती स्थापित हुँदै गएको छ।
खासगरी आफन्तकोमा जाँदा कुराकानीको सुरुवात नै ‘छोराछोरी कहाँ छन् ?’ बाट हुन्छ।
तर
बाबुनानीले कति पढेका छन् ?
कति योग्यता हासिल गरे ?
के अनुसन्धान गरे ?
के आविष्कार गरे ?
के काममा संलग्न छन् ?
कुन पद–प्रतिष्ठा हासिल गरे ? भन्ने प्रश्न प्रायः सोधिँदैन।
भन्नुको मतलब, विद्वता र योग्यताको कुरा विरलै मात्र सोधिन्छ।
‘फलानाको छोराछोरी अस्ट्रेलिया छन्, फलाना अमेरिका, अस्ति पल्लाघरेको छोराले क्यानडाबाट यति कमाएर पठायो, उसको छोरीले इजरायलबाट यति पठाइछे।’ ‘फलानाको छोराको यस्तो व्यापार छ रे, उधुम कमायो रे।’ ‘फलानाले फलानो ठाउँमा घडेरी किन्यो रे।’
‘यति गरिसक्यो, उति भ्याइसक्यो’ आदि–इत्यादि।
‘फलानाले यस्तो गर्यो, उस्तो गर्यो, हाम्राले गरेनन्, सकेनन्।’
घोचपेच, छेडखानी आदि।
कुराकानी गर्दै जाँदा मुख्य विषय नै घरघडेरी र सम्पत्तिमा पुगेर टुङ्गिन्छ।
सबैको मुखमा झुन्डिने मुख्य चासो नै पैसा !
कति कमाएका छन् हँ ?
घडेरी जोडे कि जोडेनन् ?
घर किने कि किन्न बाँकी छ ?
गाडी किने कि किनेनन् ?
मुख्यतः मध्यमवर्गीय नेपाली समाजमा प्रत्येक भेटघाट र संवादको केन्द्रीय विषय नै घर, गाडी र सम्पत्ति हुन थालेको छ। यो संवादको लप्का त्योभन्दा निम्न वर्गतिर पनि विस्तारै सल्किन थालिसकेको छ।
यसरी सिङ्गो समाज नै सम्पत्तिको लालसा र खोजीनितीमा मरिहत्ते गर्नु भनेको हरेक नवयुवाको ज्ञान, ध्यान र सारा ऊर्जा नै अब सम्पत्तिको झमेलामा फस्नु हो। आफ्नै छोराछोरीलाई पैसाको मोहमा फसाउनु हो। शिक्षा र संस्कारभन्दा सम्पत्तिको रागमा सन्तानको ध्यान लघारेर भविष्य बरबाद पार्नु हो। पैसामुखी र भ्रष्ट समाज निर्माणको तयारी हो।
समाजमा देखापरेको यो सामूहिक मनोदशाले धन, सम्पत्ति, शान–शौकत, भोगविलास नै ठूलो चिज रहेछ भन्ने भ्रम आम युवा पुस्तामा पर्दैछ। अहिलेको नयाँ पुस्तामा रातारात धनी हुने, मोजमस्ती गर्ने, रवाफिलो देखिने, अरूलाई देखाइदिने भन्ने प्रवृत्ति बढ्दो छ। यसो हुनुमा तपाईं–हामी सबैको घरघरको सिकाइ, देखासिकी, लालसा र चाहनाले ठूलो काम गरेको छ।
समाजको सानो इकाइ परिवार हो। हरेक घरबाट आफ्ना छोराछोरीलाई असल आचरण, अनुशासन र योग्यताको कुरा गर्नुभन्दा पनि अरूसँग तुलना गर्ने एवं अरूले यति कमाए, उति कमाए भन्ने उदाहरण र सपना देखाइने गरिएको छ। परिणामस्वरूप सकेसम्म राम्रै काम गरेर पैसा कमाउने, नसके जुनसुकै नराम्रो धन्दामा लागेर पनि कमाउनुपर्छ भन्ने मानसिकता र बाध्यतातर्फ नयाँ पुस्ता उन्मुख भएको छ।
जसले गर्दा समाजमा ठगी, भ्रष्टाचार र आपराधिक कर्महरू दिनानुदिन बढ्दै गइरहेका छन्।
मानिस सामाजिक प्राणी हो। परिवार, आफन्त, साथीभाइ, छिमेकी नै हाम्रो नजिकको समाज हो। यही समाजले खडा गरेको मानक, मूल्य र मान्यताबाट ऊ अलग रहन सक्दैन। मानिसको जीवनमा तीनवटा चिज स्वाभाविक रूपमा आइपर्छन्—आवश्यकता, बाध्यता र रहर।
मुख्यतः समाजको साथ पाउनु मानिसको आवश्यकता हो। समाजको लय (मूल्य, मान्यता) पक्रनु बाध्यता हो। समाजमा स्वीकार्य एवं स्थापित हुनु र प्रभाव छाड्नु हरेक मानिसको रहर र ध्येय हो। यिनै तीन आयामबाट गुज्रिनु नै मानिसको नियति हो।
अब प्रश्न उठ्छ,
के मानिस जन्मेकै पैसा कमाउनकै लागि हो त ?
मानव जीवनको उद्देश्य नै धन–सम्पत्ति जोड्नु मात्रै हो त ?
यस हिसाबले पढ्नु, लेख्नु, विद्वता हासिल गर्नु या कुनै पेशा गर्नु भन्दा पनि ठूलो सम्पत्ति जमाउनु नै हो त ? हामी बाँचेको समाज र सभ्यतासामु गम्भीर प्रश्न उब्जिएको छ।
आज सम्पत्तिकै मोह र तृष्णाले धेरै युवाहरू आक्रान्त छन्। ३०/३५ वर्ष भइसक्दा पनि धेरै युवा अविवाहित छन्। आफ्नो करियर बनाउनुपर्ने, सम्पत्ति कमाउनुपर्ने दबाबका कारण उमेर घर्किंदासम्म अरब–खाडीमा पसिना बगाउन बाध्य छ तन्नेरी उमेर। लहलहाउँदो बैँस जति मरुभूमिको तातो घाममा सुकेर, हड्डी गलेर निस्तेज भएपछि बल्ल घर फर्कन विवश छन् युवाहरू।
ढिलो विवाह, विदेशको बसाइ, पारिवारिक विग्रह, सम्बन्धविच्छेदका घटनामा वृद्धि, बाबु–आमाको पारपाचुकेका कारण बालबच्चाको बेहाल, साथै आत्महत्या र डिप्रेसनजस्ता गम्भीर समस्याहरू नेपाली समाजमा दिनप्रतिदिन बढ्दैछन्।
यी सबै चिजहरूको अन्तर्यमा ‘के जोडिस् ? कति कमाइस् ?’ भन्ने सामाजिक प्रश्नले सिर्जना गरेको रहर र बाध्यता लुकेको छ। जसरी पनि सम्पत्ति जोड्नै पर्ने लहडले अहिलेका अधिकांश युवाको व्यक्तिगत जीवन र सृजनशिलता संकटमय छ। कतिपयको घरबार उजाड र तनावग्रस्त बनाएको छ। पारिवारिक जीवन दुर्घटनाग्रस्त छ ।
घर, परिवार, आफन्त, छिमेकी, साथीभाइ कसैले पनि, नयाँ चिज उत्पादन गरेको, नयाँ ज्ञान हासिल गरेको, उच्च शिक्षा वा शैक्षिक उपाधि हासिल गरेको कुरा भन्दा उसले कस्तो खाएको, के लगाएको, कति कमाएको जस्ता प्रश्न बारम्बार तेर्स्याईदिएका कारण ‘जसरी पनि कमाउनु नै त रहेछ नि’ भन्ने ध्याउन्नतिर लाग्दा र भनेजस्तो उन्नति–प्रगति नहुँदा धेरै युवा डिप्रेसनको सिकार पनि बन्न पुगेका छन्।
समाजमा सदाचार हराउँदै र भ्रष्टाचारी चरित्र मौलाउँदै गइरहेको छ। युवाहरूमा पारिवारिक एवं सामाजिक दबाबका कारण तनाव पैदा हुनु र तनावका कारण मानसिक स्वास्थ्य बिग्रिँदै जानु, कुलत, दुर्व्यसनजस्ता समस्या बढ्दै गएको देखिन्छ।
अन्य उन्नति–प्रगति र जीविका चलाउने कुराभन्दा पनि उसको कमाइलाई बढी ध्यान दिइने भएकाले युवाहरू गलत बाटो र दुर्व्यसनमा फसेका छन्। यसमा हाम्रो पैसामुखी समाज जिम्मेवार छ।
समाजले हरेक समस्याको कारण आफूभित्र खोज्नुपर्छ। हरेक समस्याको समाधान पनि आफैँले दिनुपर्छ। कुनै पनि सामाजिक समस्या र समाधानको आधार, कारण र निवारण समाजमै हुन्छ।
प्रत्येक परिवारले संस्कार र सपना बाँड्दा छोराछोरीलाई ठूलो मान्छे होइन, असल मान्छे बन्न प्रेरित गर्नुपर्छ। सुधार र सच्याइको केन्द्रविन्दु परिवार नै हो।