‘लाहुरे हुनु भनेको भाग्यमानी हुनु हो।’ कुनैबेला नेपाली समाजमा चल्तीको बखान थियो लाहुरेको । कुनै समय ब्रिटिस र भारतीय सेनामा भर्ती भएर विदेश जाने नेपाली युवालाई गाउँघरमा विशेष सम्मान र प्रतिष्ठाका साथ हेरिन्थ्यो। लाहुरे बन्नु रोजगारी मात्र थिएन, परिवारको आर्थिक अवस्था सुधार्ने, सामाजिक प्रतिष्ठा बढाउने र उज्ज्वल भविष्य निर्माण गर्ने एउटा सपना पनि थियो। कालान्तरमा यो सपना नेपाली समाजको मानसिकतामै गहिरोसँग स्थापित भयो।
समय फेरियो, गन्तव्य फेरिए, तर विदेश जाने मानसिकता फेरिएन। हिजो बेलायत र भारतको सेनामा भर्ती हुन लाहुरे बन्ने होड थियो, पछि खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र जापान रोजगारीका प्रमुख गन्तव्य बने। अहिले अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका विकसित मुलुक पुग्ने सपना नेपाली युवाको प्राथमिकतामा परेको छ। फरक यति हो– हिजो खान लगाउनकै समस्या परेर कामको खोजीमा विदेश जानेहरू आज सुख, समृद्धि, सामाजिक प्रतिष्ठा र विलासी जीवनको आकाङ्क्षासहित संसारका जुनसुकै कुनामा पुग्न तयार छन्।
तर अहिले अमेरिका पुग्ने नाममा नेपाली युवाले रोजिरहेको जोखिमपूर्ण बाटोले नेपाली समाजको सामु एउटा गम्भीर प्रश्न खडा गरेको छ– ८० लाखदेखि १ करोड ४० लाख रुपैयाँसम्म खर्च गरेर अमेरिका पुग्नु नेपाली युवाहरुको रहर हो कि बाध्यता ? अनि त्यत्रो पैसा हुने मान्छे किन विदेश जानुपर्ने ?
सन् २०२६ को सुरुवाती महिनामा अमेरिकाले चार्टर्ड विमानमार्फत ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई स्वदेश फर्काएको समाचारले नेपाली समाजलाई झस्काएको थियो। जनवरीमा १०१, फेब्रुअरीमा १३० र मार्चमा ४३ जना नेपाली अमेरिका छाडेर फर्कन बाध्य भएको तथ्याङ्क सार्वजनिक भएको थियो। जनवरीमा एकैपटक ८० जना नेपाली चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका थिए।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानमा कतिपयले दलाललाई ५० लाखदेखि एक करोड ४० लाख रुपैयाँसम्म बुझाएर अवैध बाटो हुँदै अमेरिका पुगेको बताएका थिए ।
अमेरिका पुग्ने सपनामा घरजग्गा बेच्ने, चर्को ब्याजमा ऋण लिने, आफन्तसँग सापटी माग्ने र परिवारको सम्पूर्ण सम्पत्ति दाउमा लगाउने युवाहरू अन्ततः रित्तो हात स्वदेश फर्कनुपरेको छ। कतिपयले बाटोमा लुटपाट, बन्धक, शारीरिक तथा मानसिक यातना र असुरक्षाको सामना गर्नुपरेको छ।
पनामा र मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा जङ्गल, नदी र कठिन भूगोल पार गर्नुपर्छ। कतिपयको ज्यानै जाने, कतिपय बेपत्ता हुने र कतिपय मानव तस्करको फन्दामा पर्ने गरेका छन्। अमेरिका पुगेपछि पनि अध्यागमन हिरासत, कानुनी झमेला र देश निकाला हुने जोखिम उत्तिकै छ।
अझ दुःखद पक्ष के छ भने, अमेरिका पुग्नकै लागि परिवारले वर्षौं लगाएर जोडेको सम्पत्ति बेचेर वा चर्को ब्याजमा ऋण लिएर दलाललाई बुझाएको रकम गुम्छ। विदेश पुगेपछि सुखी जीवन बिताउने आशामा रहेका परिवार उल्टै ऋणको भारी बोकेर आर्थिक र मानसिक सङ्कटमा पर्छन्। कतिपय परिवारको पुस्तौँदेखिको आर्थिक आधार नै भत्किन्छ।
लाहोरदेखि खाडीसम्म : विदेशिने बाध्यताको इतिहास
सन् १८१४–१६ को नेपाल–अङ्ग्रेज युद्धपछि पन्जावका महाराजा रणजित सिंहको सेना (लाहोर) मा नेपाली युवाहरू भर्ती हुन थालेपछि यसको सुरुवात भएको हो । शुरुमा लाहोर हुँदै पछी मुख्यतः भारत (ब्रिटिस-इन्डिया र स्वतन्त्र भारत), बेलायत, ब्रुनाई र सिङ्गापुरमा जागिरे हुने चलन रह्यो । यसरी हेर्दा नेपाली युवाको विदेशिने इतिहास आजको होइन। नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिसँग जोडिएको यो लामो यात्रा हो।
वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन र उदारीकरणपछि श्रम स्वीकृति लिएर विभिन्न देश जाने क्रमसँगै यसको व्यापक विस्तार भएको हो। ब्रिटिस र भारतीय सेनामा भर्ती हुने परम्परादेखि सुरु भएको वैदेशिक रोजगारीको यात्रा समयक्रममा खाडी मुलुक र मलेसियासम्म फैलियो। पछिल्ला दशकमा लाखौँ नेपाली श्रमिक खाडीका मरुभूमि, निर्माणस्थल, उद्योग, होटल र घरायसी काममा पसिना बगाइरहेका छन्।
कसैले परिवारको पेट पाल्न, कसैले छोराछोरी पढाउन, कसैले घर बनाउन र कसैले ऋण तिर्न विदेशको कठोर श्रम रोजेका छन् । चर्को गर्मी, जोखिमपूर्ण काम, न्यून पारिश्रमिक, श्रम शोषण, दुर्घटना, बिरामी हुँदा उपचारको समस्या र परिवारबाट वर्षौं टाढा बस्नुपर्ने पीडा उनीहरूको साझा नियति बनेको छ।
विदेशबाट पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको छ। लाखौँ परिवारको चुलो बलेको छ, शिक्षा र स्वास्थ्यमा पहुँच बढेको छ, गाउँघरमा घर बनेका छन् र उपभोग क्षमता विस्तार भएको छ। तर यससँगै एउटा गम्भीर प्रश्न पनि जोडिएको छ की, हाम्रो देशको उत्पादन, उद्योग, कृषि र अर्थतन्त्र बलियो बनाउने उमेरका लाखौँ युवा विदेशिनुपर्ने अवस्था कहिलेसम्म रहिरहने ?
रेमिट्यान्सले अर्थतन्त्रलाई चलायमान बनाए पनि त्यसले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र दिगो आर्थिक समृद्धि हासिल गर्ने विकल्पको स्थान लिन सक्दैन। देशको श्रमशक्ति र सिर्जनशील जनशक्ति निरन्तर बाहिरिँदा कृषि, उद्योग, निर्माण र उद्यमशीलतामा जनशक्तिको अभावसमेत बढ्दै गएको छ।
किन विदेशिन चाहन्छन् युवा ?
विदेशिने प्रवृत्तिलाई खाली युवाको रहर, महत्त्वाकाङ्क्षा वा विलासी जीवनप्रतिको आकर्षण भनेर मात्रै व्याख्या गर्नु पर्याप्त हुँदैन। यसको पछाडि बेरोजगारी, न्यून आय, अवसरको असमानता, राजनीतिक अस्थिरता, कमजोर औद्योगिक आधार र राज्यको कमजोर रोजगार नीतिजस्ता संरचनागत कारण छन्।
नेपालमा उच्च शिक्षा हासिल गरेका युवाले समेत आफ्नो योग्यता र क्षमताअनुसारको रोजगारी पाउन कठिन छ। सीप भएका युवाले पनि उचित पारिश्रमिक र सम्मानजनक काम पाउँदैनन्। कृषि पेसा जोखिमपूर्ण छ, उद्योगधन्दा पर्याप्त छैनन् र उद्यम गर्न चाहनेलाई पूँजी, प्रविधि, बजार तथा सरकारी सहजीकरणको अभाव छ। राजनीतिक पहुँच, नातावाद, कृपावाद र अस्वस्थ प्रतिस्पर्धाले योग्यताभन्दा पहुँचलाई महत्त्व दिने प्रवृत्तिसमेत निराशाको कारण बनेको छ।
अर्कोतर्फ, बढ्दो महँगीले सामान्य आयमा जीवन धान्न कठिन बनाएको छ। शिक्षा, स्वास्थ्य, आवास, यातायात र दैनिक उपभोगका वस्तुमा हुने खर्च निरन्तर बढिरहेको छ। सामान्य रोजगारीबाट परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन हुँदै गएको छ। यस्तो अवस्थामा विदेशमा कमाइ हुने सम्भावना देख्नु स्वाभाविक हो।
तर समस्या त्यतिमै सीमित छैन। पछिल्लो समय समाजमा देखासिकी, प्रतिस्पर्धा र उपभोक्तावादी सोच पनि तीव्र रूपमा बढेको छ। राम्रो घर, महँगो गाडी, ब्रान्डेड सामान, विलासी जीवनशैली र सामाजिक सञ्जालमा देखिने तडकभडकले मानिसको आकाङ्क्षा अस्वाभाविक रूपमा बढाएको छ। विदेशमा रहेका आफन्त वा साथीले पठाएका तस्बिर र सफलताका कथाले युवामा विदेश जाने चाहना अझ बढाउँछन्। तर उनीहरूले भोगेको संघर्ष, श्रमको कठिनाइ, एक्लोपन र मानसिक तनाव भने प्रायः सार्वजनिक हुँदैन।
समाजले पनि व्यक्तिको मूल्याङ्कन उसको ज्ञान, सीप, इमानदारी र सामाजिक योगदानबाट भन्दा उ बसेको देश, उसको कमाइ र जोडेको सम्पत्तिका आधारमा गर्न थालेको छ। स्वदेशमै बसेर सामान्य पेसा गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण र विदेशबाट पैसा पठाउने व्यक्तिलाई दिने सामाजिक प्रतिष्ठामा ठूलो अन्तर देखिन्छ। यस्तो सामाजिक मनोविज्ञानले विदेश जानुपर्ने दबाबलाई थप बलियो बनाएको छ।
छिटो धनी बन्ने सपना र दलालको जालो
विदेश जानु आफैँमा गलत होइन। कानुनी प्रक्रिया पूरा गरेर, सीप र योग्यता हासिल गरी सुरक्षित रोजगारीका लागि विदेश जानु व्यक्तिको अधिकार र अवसरको विषय हो। तर कुनै पनि मूल्यमा अमेरिका वा कुनै युरोपियन मुलुक पुग्नैपर्छ भन्ने मानसिकताले युवालाई जोखिमपूर्ण निर्णयतर्फ धकेलिरहेको छ।
मानव तस्कर तथा अवैध आप्रवासनको सञ्जालले यही मनोविज्ञानको फाइदा उठाइरहेको छ। उनीहरूले सजिलै अमेरिका पुर्याइदिने, पुगेपछि काम र कागजात मिलाइदिने तथा केही समयमै राम्रो आम्दानी हुने प्रलोभन देखाउँछन्। कतिपयले विदेशमा रहेका आफन्त र चिनजानका व्यक्तिको उदाहरण दिएर परिवारलाई विश्वासमा लिन्छन्। तर उनीहरूले देखाएको आकर्षक भविष्यको पछाडि लुटपाट, बन्धक, यातना, ठगी र देश निकाला हुने भयावह वास्तविकता लुकेको हुन्छ।
यस्ता घटनालाई बेरोजगार युवाको व्यक्तिगत कमजोरी भनेर पन्छाउन मिल्दैन। मानव तस्करी र अवैध आप्रवासनको सञ्जालविरुद्ध प्रभावकारी अनुसन्धान, दोषीमाथि कडा कारबाही र पीडितको आर्थिक तथा कानुनी संरक्षण आवश्यक छ। साथै, विदेश पठाउने नाममा हुने ठगी र झुटा आश्वासनविरुद्ध जनचेतना विस्तार गर्नु पनि उत्तिकै जरुरी छ।
राज्यको दायित्व र हाम्रो सामाजिक सोच
अब प्रश्न उठ्छ की , किन नेपाली युवाले आफ्नो भविष्य निर्माण गर्न किन आफ्नै देशमा सम्भावना देख्न सकिरहेका छैनन् ? युवालाई विदेश जानबाट रोक्ने आदर्श भाषण गरेर मात्र यो समस्या समाधान हुँदैन। राज्यले स्वदेशमै रोजगारी, उद्यम र सम्मानजनक जीवनयापनका अवसर सिर्जना गर्न सक्नुपर्छ।
कृषिलाई आधुनिक, व्यावसायिक र नाफामूलक बनाउने, उत्पादनमूलक उद्योग स्थापना गर्ने, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउने, सीपमूलक शिक्षालाई बजारको मागसँग जोड्ने र युवा उद्यमीलाई सहुलियतपूर्ण ऋण तथा बजारको सुनिश्चितता गर्ने नीति आवश्यक छ। लगानीमैत्री वातावरण, सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थिरताबिना स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य पूरा हुन सक्दैन।
विदेशमा रहेका नेपालीको सीप, पूँजी, अनुभव र प्रविधिलाई स्वदेशको उत्पादन तथा उद्यममा जोड्ने प्रभावकारी कार्यक्रम पनि आवश्यक छ। वैदेशिक रोजगारीलाई बाध्यताको विकल्प मात्र नभई सुरक्षित, मर्यादित र सीपमा आधारित अवसरका रूपमा विकास गर्नुपर्छ।
अर्कोतर्फ, हाम्रो सामाजिक सोचमा पनि परिवर्तन आवश्यक छ। विदेशमा कमाउने व्यक्तिलाई मात्र सफल र स्वदेशमै बसेर श्रम, व्यवसाय, कृषि वा उद्यम गर्ने व्यक्तिलाई कम महत्त्व दिने प्रवृत्ति त्याग्नुपर्छ। सफलता भनेको महँगो घर, गाडी र विदेशी मुद्रा मात्र होइन, आत्मसम्मानका साथ आफ्नो श्रमबाट जीवन चलाउनु, परिवारसँग रहन पाउनु र समाज तथा राष्ट्रका लागि योगदान गर्न सक्नु पनि हो।
लाहुरे बन्ने रहरदेखि खाडीको मरुभूमिमा पसिना बगाउने बाध्यता र अहिले करोडौँ खर्चेर अमेरिका पुग्ने महत्वाकाङ्क्षासम्म आइपुग्दा नेपाली युवाको विदेश यात्राले धेरै रूप फेरिसकेको छ। तर एउटा साझा यथार्थ भने अझै बदलिएको छैन– आफ्नै देशमा पर्याप्त अवसर नपाउनु।
८० लाख वा एक करोड रुपैयाँ खर्च गरेर अमेरिका पुग्ने युवालाई खाली मूर्ख, लोभी वा महत्वाकाङ्क्षी भनेर टिप्पणी गर्नु समस्याको सतही व्याख्या मात्र हुनेछ। उनीहरूको निर्णयमा व्यक्तिगत रहर र सामाजिक देखासिकीको प्रभाव अवश्य छ, तर त्यसको पछाडि बेरोजगारी, आर्थिक असुरक्षा, राज्यप्रतिको निराशा र भविष्यप्रतिको अन्योल पनि उत्तिकै जिम्मेवार छन्।
यद्यपि, विदेशमा सुखी जीवनको सपना देख्नु र त्यसका लागि आफ्नो तथा परिवारको सम्पूर्ण भविष्य जोखिममा राख्नु एउटै कुरा होइन। सपना देख्नुपर्छ, तर सपना पूरा गर्ने बाटो सुरक्षित, कानुनी र विवेकपूर्ण हुनुपर्छ। दलालको प्रलोभनमा परेर जीवनभरको कमाइ गुमाउनु र परिवारलाई ऋणको खाडलमा धकेल्नु कुनै पनि अर्थमा बुद्धिमानी हुन सक्दैन।
आजको आवश्यकता युवालाई विदेश जानबाट रोक्नु होइन, विदेशिनुपर्ने बाध्यता कम गर्नु हो। राज्यले युवालाई देशभित्रै भविष्य देखाउन सक्नुपर्छ। स्वदेशमा श्रमको सम्मान, सीपको मूल्य, लगानीको सुरक्षा र योग्यताअनुसार अवसर सुनिश्चित गर्न सकिएन भने विदेशिने लहर रोकिने छैन।
अत: देश बनाउन सक्ने उमेरका युवाले आफ्नै देशमा भविष्य बनाउन नसकेर अरूको देशमा भविष्य खोज्नुपर्ने अवस्था कहिलेसम्म रहिरहने ? यो प्रश्न अहिले बिदेशिनु परेका युवाको मात्रै होइन, समग्र नेपाली समाज र राज्य व्यवस्थाकै भविष्यसँग जोडिएको प्रश्न हो।