धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३०० जना लाभान्वित भएका छन्।सोमबार आयोजित शिविरमा मलेसियाबाट आएका अनुभवी चिकित्सकसहितको टोलीले विभिन्न स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेको हो।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, दुखाइसम्बन्धी समस्या, दाँत तथा मुख स्वास्थ्य परीक्षण, आँखाको परीक्षण, बालबालिका तथा महिलासम्बन्धी रोगको जाँच, रक्तचाप तथा मधुमेह परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो। त्यस्तै, भिडियो एक्स–रे सेवा तथा आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
कान्छीमाया तामाङ फाउन्डेसनका अध्यक्ष तथा चिकित्सक डा. दिलबहादुर थोकरका अनुसार शिविरमार्फत ३०० जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ।
बोधिसत्व विहार, टेगार गुम्बा च्यारिटी र गल्छी गाउँपालिकाको आयोजनामा तथा कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरले गल्छी तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा सहयोग पुर्याएको आयोजकले जनाएको छ।