धादिङ । धादिङको थाक्रे गाउँपालिका–९, केवलपुरमा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रमदेखि आगामी नीति तथा कार्यक्रमहरू समेटिएका छन्।

त्यसैगरी संस्थाका मुख्य प्रबन्धक सुरेश कोइरालाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन र लेखा समिति संयोजक लक्ष्मी लामिछाने रेग्मीले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी पशुधन संरक्षण समितिको तर्फबाट चन्द्रावति बास्कोटाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

१ हजार २४८ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड ६१ लाख ८८ हजार ६ सय रुपैयाँ रहेको छ। संस्थामा १५ करोड ३९ लाख २७ हजार ८६७ रुपैयाँ निक्षेप मौज्दात रहेको छ भने २७ करोड ५७ लाख ९४ हजार ८३९ रुपैयाँ ऋण लगानी र २७ करोड ६१ लाख ४५ हजार ८८२ रुपैयाँ ऋण असुली रहेको छ।
संस्थाको वार्षिक आम्दानी ३ करोड ४१ लाख ४ हजार रुपैयाँ रहेकोमा खर्च २ करोड ५७ लाख १० हजार ४६७ रुपैयाँ रहेको छ। यस वर्ष संस्थाले ८४ लाख २९ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको कुल कारोबार ३१ करोड ५३ लाख ७० हजार ७५४ रुपैयाँ रहेको मुख्य प्रबन्धक सुरेश कोइरालाले जानकारी दिनुभयो।
सभाका अवसरमा उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा नगद सहित सम्मान समेत गरिएको थियो।

कार्यक्रममा थाक्रे गाउँपालिका–९ का वडाध्यक्ष श्यामचन्द्र आचार्य, वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछाने, भूमेस्थान, थाक्रे, तसर्पू, गोगनपानी, जीवनपुर र छत्रेदेउराली साना किसान कृषि सहकारी संस्थाका अध्यक्षहरू, विभिन्न सहकारी संस्थाका प्रमुख तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।