✍️ रामचन्द्र अर्याल
महाकवि लक्ष्मीप्रसाद देवकोटाको पहाडी जीवन निबन्धबाट गोसाइँकुण्ड यात्राको केही धारणा बनिसकेको भए पनि यसपालिको रक्षा बन्धनको सन्दर्भ पारेर गोसाइँकुण्ड स्नानका लागि अघिल्लो दिन विहानै ३ बजेको साइत गरियो । गोसाइँकुण्ड यात्राको अनेकौँ कल्पना मनभरि तँछाडमछाड गरी आइरहेका थिए । कस्तो होला बाटो, ठाउँ, यात्रा अनि म कसरी पुगँुला त्यो पवित्र दिव्यधाममा भन्दै भगवान शिवलाई स्मरण गर्दै अघि बढियो । सात बजे सारथि (स्कुटर) लाई धुन्चेमा धन्यवाद दिँदै पेटमा अलिकति ठोस र तरललाई ठाउँ दिएर दस पाइला हिँड्ने बित्तिकै अन्दाजी ६ वर्षको सानो बाबुले दथ रुप्पेको लौरो लैदानु न भन्ने आग्रह ग¥यो । रु. दस दिएर टिपियो निगालाको लौरो । घट्टे खोलाको गणेशको मूर्ति, गोसाइँकुण्डको पवित्र जल नाघ्ने पुल र मिनी गोसाइँकुण्डलाई नमस्कार गरी अगाडिको प्राकृतिक भ¥याङमा पहिला नाकले अनि लौराले त्यसपछि खुट्टाले छुँदै लागियो लामटाङ राष्ट्रिय निकुञ्जको सङ्केत पछ्याउँदै ।
थर्पु १, २, ३ गर्दै गन्दै जाँदा थर्पु पालिका रहेछ कि ? गाउँ रहेछ कि ? नाम वा के होला भन्दै जाँदा यात्रुका लागि बास बस्ने ठाउँ रहेछ थर्पु, पहिलो १ अनि क्रमशः २, ३ , ४ नम्बर गर्दै ... ।
थर्पु गन्दै उकालिँदै कसैलाई उछिन्दै कसैलाई बाटो छोड्दै, बोलेका अनुहार, हाँसेका मुहार, थकानका चेहरा । आशा, आकाँक्षा आशङ्का, खुल्दुली कोही गइरहेका कोही आइरहेका । फर्किएकाहरु लोकसेवा पास गरेका झैँ पूर्ण दङ्ग देखिन्थे भने गइरहेकाहरु थकानले ओठ तालु सुकेका त कोही आध्यात्मिक ऊर्जाले धपक्क बलेका । जय शम्भो, ॐ नमः शिवाय जस्ता शब्दले गुञ्जयमान वन, मानवीय स्पर्शले तरङ्गित लहरा र द्रुम ।
गोसाइँकुण्ड यात्रा हिँडाइ मात्र थिएन । यात्रामा अध्यात्म, प्रकृति, जीवनशैली, आँट, साहस, इच्छा, अवसर, खोज विश्लेषण, अनुभव, भोगाइ आदि पक्ष पनि जोडिएका थिए । सो यात्रामा प्रायः १६ देखि ६० वर्षसम्मका अधिकांश जोडी थिए । उमेरले पाका केही जेष्ठ नागरिक देखिए पनि केटाकेटीलाई घरमा छोडेर हिँडेका प्रेमिल जोडी नै अधिक देखिन्थे । अन्य ठाउँ, समय र सन्दर्भभन्दा पृथक यात्रा । अघोषित रुपमा बालबालिका र वृद्धलाई बन्देज गरिएको जस्तो ।
सबै समान लाग्ने किनकि पार्टी छैन । कमिटि छैन । पद छैन । छ त झोला, पसिना र लौरो । हिँडाइमा, बसाँईमा र खुवाइमा बरियता मिलाउनु नपर्ने । म ॐ कार भित्रको अनि तपाईँ कुन ॐ कारको ए तिमीचाहिँ कुन ॐ कारको भन्ने रहेनछ । किन बल्ल आउनुभयो वा फेरि आउनुभयो भनेर सोधिँदो रहेनछ । तँछाडमछाड नहुने रहेछ । उद्देश्य एक गन्तव्य एक । सबै शान्त सबै निश्चिन्त ।
बाटो भुलियो कि ? कसैले कसैलाई सोध्नु नपर्ने । कहाँ जाने अर्थात् टाढै हो भनेर औपचारिकता निभाउनु नपर्ने । कहाँसम्मको साइत भन्ने जिज्ञासा राख्नै नपर्ने । राख्नै नहुने । धनी गरिवको भेद नभएको । शरीर उस्तै थाकेका । जुत्ता उस्तै माटाले रङ्गीन बनेका । एकै नासका झोला भरियाले झैँ टाउकाले थामिएका । मेकअप (शृङ्गार) को झन्झट नबोकेका । क्रिम पाउडरको सट्टा पसिना दानाले टलक्क टल्केका अनुहार स्याउ झैँ राम्रो नेपाली पाराको । बलियोको घमण्ड त्यागेका र निर्धोको पगरी पनि फ्यालेका सबैसँग कम्तीमा एक लठ्ठी के बलियो के निर्धो । लेकाली आलुको झोलसँग उतैको सुगन्ध आउने भात । भोक मिठो कि भोजन महाराज ?
सबै समान लाग्ने किनकि पार्टी छैन । कमिटि छैन । पद छैन । छ त झोला, पसिना र लौरो । हिँडाइमा, बसाँईमा र खुवाइमा बरियता मिलाउनु नपर्ने । म ॐ कार भित्रको अनि तपाईँ कुन ॐ कारको ए तिमीचाहिँ कुन ॐ कारको भन्ने रहेनछ । किन बल्ल आउनुभयो वा फेरि आउनुभयो भनेर सोधिँदो रहेनछ । तँछाडमछाड नहुने रहेछ । उद्देश्य एक गन्तव्य एक । सबै शान्त सबै निश्चिन्त । म तपाईँको झोला बोकी दिऊँ त भन्दा पर्दैन भन्ने आवाज आउने पक्का भएपछि मात्र सोधिँदो रहेछ । थकाइ, थकान अनि महाथकानमा सबैजना एक अर्कालाई हेर्ने फुर्सत नपाई केवल सास लिँदै छोडदै । पूरै शरीर लौरीको जिम्मामा ।
गोसाइँकुण्ड भगवानले आफ्ना लागि तयार पार्नुभएको पवित्र, पून्य, शाश्वत, अद्वितीय, अनुपम दिव्यतम् भूमि । माता गौरी र गङ्गा मातालाई साथ राखी बेलाबखत भक्तलाई प्रत्यक्ष दर्शन दिनुहुने महानतम् धाम । आफ्ना पार्शदहरुलाई वरिपरि राखी सबै भक्तलाई आनन्दित र मोहित पार्ने स्वर्गको टुक्रा रहेछ ।
थर्पुमा कालो चाइनिज म्याटमा दुईतिरबाट खुट्टा छुने गरी कोल्टे परेर मात्र एउटै पालभित्र सत्तरीको सङ्ख्यामा सुत्दा म जस्तो भन्ने अहङ्कार, कुनाको साथी शौचालय जाँदा उसको खुट्टाले निदाउन लागेको मान्छेको गोली गाँठा स्पर्श गर्दा त्यो अहङ्कार कहाँ जाला बाघ घुराइको म्युजिक कन्सर्टमा ? ओहो कस्तो समस्या ? होइन नि समस्या । थर्पु नभए कहाँ बस्थे ती यात्रुहरु । धन्यवादका पात्र रहेछन् व्यवसायी, सुरक्षाकर्मी मोबाइलका टावर र सोलार प्यानलहरु । मोबाइल चार्जको समस्या, पानी र शौचालयको समस्या भनेको पनि सुनियो । दुर्गमको यात्रा अलिअलि समस्या त भइहाल्छ नि भन्दै सरकारसँग सीमित स्रोत साधन छ भनेर बचाऊ गरेको पनि सुनियो । सायद भगवानले आलोचनामात्र नगर्नु भन्नु भएको रहेछ जस्तो लाग्यो । म मदिराको पक्ष लिने मान्छे त होइन तर मदिरा हाम्रो कुनै समुदायको सँस्कृतिसँग पनि जोडिएको छ । अति धेरैै दुःख गरेर गएको मान्छेले त्यही उत्पादित (जुन सँस्कृतिसँग सम्बन्धित छ ) स्थानीय उत्पादनको चुस्की लिन पाए सँस्कृति, उत्पादन, जनजीविका र उद्यमशीलपक्षसँग जोडिन्थ्यो होला नि तर बहुराष्ट्रिय कम्पनीका बोटलले कुरुप बनेका पखेरा पनि देखिए । जङ्क फुडका प्लास्टिक र यी बोटललाई स्थानीय सरकारले योजना बनाउनुपर्ने जस्तो ठानियो । मन्दिरमा मदिरा वा तीर्थ पनि पियाइ भन्नुहोला । खुड्किला पिच्छे मदिरा चाहिनेहरु पनि हुँदा रहेछन् त्यसैले नेपाली उत्पादनलाई प्रोत्साहन दिऔँ भन्ने हो ।
उकालो, गाह्रो र समस्यामात्र होइन नि गोसाइँकुण्ड । म ढोग्छु भन्दा निधारमै पाऊ ल्याइदिने चन्द्रमा । अँध्यारो छ भन्दा सामुन्ने उभिदिने ध्रुबतारा । मुसुक्क हाँस्दा अङ्कमाल गर्न आइपुग्ने लामटाङ हिमाल । राम्ररी जानू आउँदा जाँदा सम्झनू भन्ने जुगल हिमाल । तिमी उता म यता ज्यान त टाढा छ तर भन्दै दोहोरी खेल्न आउने गणेश हिमाल । मध्यरातमा पनि जङ्गलमै जडीबुटी चाटिरहेको चौँरी । मलाई नखोज्नू भन्ने रेड पान्डा (हाब्रे) । लामटाङ बराबरका सल्ला र यिनीहरुमात्र छन् कि क्या हो संसारभर भने झैँ लालीगुराँस । झार र झ्याउबाहेक केही नउम्रने ठाउँको होटेल्नीलाई डल्ले खुर्सानी रोप्नु नि कस्तो खल्लो सब्जी भन्दा मुसुक्क हाँस्ने साहुनी । अनि निबन्धमा लेखेझैँ मेरो नेपाल, पवित्र नेपाल, सुन्दर नेपालको परिचय हो गोसाइँकुण्ड ।
गोसाइँकुण्ड भगवानले आफ्ना लागि तयार पार्नुभएको पवित्र, पून्य, शाश्वत, अद्वितीय, अनुपम दिव्यतम् भूमि । माता गौरी र गङ्गा मातालाई साथ राखी बेलाबखत भक्तलाई प्रत्यक्ष दर्शन दिनुहुने महानतम् धाम । आफ्ना पार्शदहरुलाई वरिपरि राखी सबै भक्तलाई आनन्दित र मोहित पार्ने स्वर्गको टुक्रा रहेछ ।
समग्रमा गोसाइँकुण्ड पावनभूमिको स्पर्श, भगवानसँगको साक्षात्कार अनि पवित्र कुण्डको डुबुल्की साथै मेरो सुन्दर नेपाल अनि म प्रकृति र साक्षात् भगवानको काखमा बसेको भाग्यमानी नेपाली भन्ने बोध रहेछ ।
लेखक रामचन्द्र अर्याल धादिङको गल्छिमा रहेको सक्सेस एकेडेमीका प्रवन्ध निर्देशक हुनुहुन्छ ।