शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लघुकथा : निभेको आगो

लघुकथा : निभेको आगो

  • 7.1K
    SHARES
  • लघुकथा : निभेको आगो

    शुक्रबारको दिन ३ बज्न लाग्दा हाकिम मिलन मरहट्टाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । रङ्ग नम्बर हुन सक्छ भनेर उसले फोन उठाएन । फेरि एकछिन पछि त्यही नम्बरबाट फोन आयो । गाडीमा चढ्न तरखर गर्दै उसले फोन उठायो ।

    images
    images

    'हेलो ! म मिलन मरहट्टा । तपाईंले कसलाई खोज्नुभएको नि?' उसले विस्तारै भन्यो ।

    'नमस्कार सर ! मैले तपाईंंलाई नै खोजेकी हुँँ । म त्यही हराएकी तिर्सना शर्मा हुँँ । अभिनेता सुनील शेट्टीले पछिल्लो पटक मुम्बईबाट उद्धार गरेर नेपाल फर्काएका छब्बीस जना नेपाली चेली मध्येकी म पनि एक हुँँ । म सँग परिचयपत्र, नागरिकता केही पनि नभएकोले सिंहदरबार भित्र छिर्न पाइन । म दुई घण्टादेखि तपाईंलाई कुरेर बसिरहेकी छु । कृपया मलाई भेटेर मात्र जानुहोला ।' उताबाट महिलाको रुन्चे स्वर सुनियो ।

    'हुन्छ, गेटको बाँया साइडमा बस । म बाइकमा आउँदै छु ।' त्यसपछि गाडी छोडेर ऊ बाइकमा हुँँइकियो । अनि, गेटबाट उसलाई लिफ्ट दिएर अनामनगरको रोटी पसलमा पुग्यो । अनि सुख्खा रोटी तरकारी अर्डर गरेर भित्रको कोठामा पुगेर भलाकुसारी शुरु भयो ।

    'सर ,म तपाईंँलाई मेरो अन्तरकथा र समस्या सुनाएर मन हल्का पार्न चाहन्छु । ' आँसु पुछ्दै उसले भनी ।

    'ल भन, मैले सकेको सहयोग गर्नेछु ।' मिलनले भावुक हुँदै भन्यो ।

    अनि तिर्सनाले धाराप्रवाहमा आफ्नो जीवनकथा सुनाई । उदास मुद्रामा मिलनले सुनिरह्यो ।

    'मलाई भारत घुमाउन लगेर मेरै लोग्नेले मुम्बईमा बेचेर आएको हो । मेरो मोबाइल उसैले लिएर आएको हो । अनि यहाँ आएर मोबाइल घरमै छोडेर घरबाट बेपत्ता भएकी भनेर प्रहरीमा निवेदन दिने काम र विभिन्न सञ्चार माध्यममा महिला हराएको सूचना प्रचार-प्रसार गराएछ । '

    यति भन्दा दुवैका गला अवरुद्ध भए ।

    एकछिन रोकिएर उसले पुन: बोल्न शुरु गरी - 'सर, म त काठमाडौं फर्केपछि सोझै माइत गएकी थिएँ । तर माइतीमा सबै कुरा थाहा पाइसकेका रहेछन् । सबैले छि:छि: र दुर-दुर गरे । कसैको घरभित्र पनि पस्न दिएनन् । मैले छोएको चिजबिज कसैले खान मानेनन् । बाबा-आमाले पनि वास्ता गरेनन् । लाचार भएर म फेरि काठमाडौं फर्किएँ ।' उसले उदास हुँदै भनी ।

    'अब कानुनी उपचार खोज्नुपर्छ ।' मिलनले सुस्केरा हाल्दै बोल्यो ।

    'कसरी उपचार खोज्नु र सर ! म त निभेको आगो हुँँ । मेरा सबै सर-सामन, लुगाफाटो, गरगहना, शैक्षिक प्रमाणपत्र, नागरिकता सबै लोग्नेले राखेको छ । अरु साथीका त सबैथोक माइतमा थिए र नयाँ जीवन शुरु गरिसके । मेरो भने जीवन अन्धकार हुने भयो ।' अनि मुख छोपेर रुन थाली ।

    'तिम्रो लोग्नेलाई मैले चिनेको छु, फोन गरुँ त ?' मौनता भङ्ग गर्दै मिलन बोल्यो ।

    'भो भो सर !' मैले साथीको फोनबाट कुरा गरेको थिएँ । शुरुमा झस्किएको थियो । पछि म अंशवापत दश लाख र तिम्रा सबै सामान कागजात फिर्ता दिन्छु । तर तिमीले लोग्नेले बेचेको हो भन्ने कुरा कसैलाई नभन्नु ल ! भनेर फकाएको थियो । अचेल पनि फोनमा म नै हुँँ भन्ने सोचेर दिउँसो जे-जे भन्छ्यौ सबथोक दिन्छु भनेर फकाउने र राती-राती तँलाई पनि जलाइदिन्छु र तेरा सामान पनि जलाइदिन्छु भनेर  थर्काउने र धम्क्याउने गरिरहन्छ रे ।'

    'हजुरले दुईपटक मलाई माग्न जानुभएको थियो । बाबाले त्यस्तो लाटोसोझो मान्छेलाई छोरी दिनुभन्दा त बोरामा बाँधेर त्रिशुलीमा बगाउन बेस् भनेर भन्नु भएछ । हजुरबाले पनि बाठो मान्छेलाई दियो भने रुखको टुप्पोमा लगेर पनि पाल्छ भन्नुभएछ तर अहिले मेरो यस्तो हालत देख्दा तेरो भाग्य यस्तै रहेछ भनेर भन्नुहुन्छ ।' यो सुनेर मिलन पनि रोयो ।

    'सुन्नुस् त सर ! मलाई यो ओखती नखाई निद्रा नै नपर्ने भएको छ ।' झोलाबाट दुइथरी औषधीको निकालेर देखाई ।

    त्यो देखेपछि मिलनले रुँदै भन्यो - 'तिर्सना बहिनी, सत्ताइस वर्षसम्म पुरुष हिंसा सहेर बस्दा मलाई पनि त्यही औषधी खाएर निदाउने गरेको छु। किनकि म पनि निभेको आगो नै हुँँ ।' 

    त्यसपछि दुवै डाँको छोडेर रुन थाले ।       

    -नवराज न्यौपाने 'मौन' मातातीर्थ, बालागाउँ, काठमाडौं ।   

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - २१:१३:१३ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology