धादिङ। खनियाबास गाउँपालिकामा स्थानीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
भदौ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा सहकारीको आधारभूत शिक्षा, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, लेखा प्रणाली, सहकारी संस्थाको प्रभावकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलगायतका विषयमा प्रशिक्षण, अभ्यास तथा अन्तरक्रिया गरिएको थियो।
तालिमको सहजीकरण प्रशिक्षक सचिन भट्टराईले गर्नुभएको थियो। तालिममा सहभागीहरूले सहकारी संस्थाको व्यवस्थापन, वित्तीय अनुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहसँग सम्बन्धित विषयमा व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए।

तालिमको कार्यक्रममा खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत,आड्रा नेपालका परियोजना अधिकृत माधव जंग महतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा अध्यक्ष तामाङले सहकारी संस्थालाई दिगो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारी तथा कर्मचारीहरूको ज्ञान, सीप र वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता महत्वपूर्ण रहेको बताउनु भएको थियो। उहाँले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै सहकारी संस्थाको संस्थागत विकाससँगै सदस्यको हितमा प्रभावकारी सेवा प्रवाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो।
तालिममा खनियाबास गाउँपालिकाभित्रका तीनवटा स्थानीय कृषि सहकारी संस्थाका पदाधिकारी तथा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,फिल्ड संयोजक प्रतीक अवस्थी,प्रशासन तथा बित्त अधिकृत सुवास अर्याल लगायत परियोजनामा कार्यरत कर्मचारी गरी जम्मा २३ जनाको सहभागिता रहेको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता बुद्धिमान विकले जानकारी दिनुभयो।
तालिमको समापनसँगै सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो सहकारी संस्थाको दैनिक कार्यसम्पादनमा प्रयोग गर्दै संस्थागत सुशासन, वित्तीय पारदर्शिता, अनुशासन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिम मार्फत सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको संस्थागत, वित्तीय तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि हुनुका साथै सहकारी संस्थाको दिगोपन, पारदर्शिता र प्रभावकारी सञ्चालनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रयास नेपाल धादिङको आयोजना तथा आड्रा नेपालको सहयोगमा सञ्चालित ‘उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो।