हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकमा उहाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
१०४ सदस्यीय प्रदेश सभाको बैठकमा ५८ जना सदस्य उपस्थित रहेकोमा मुख्यमन्त्री थापाको पक्षमा ५७ मत परेको थियो । प्रस्तावको विपक्षमा कुनै मत नपरेको उपसभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त मत प्रदेश सभाको तत्काल कायम रहेको कुल सदस्य सङ्ख्याको बहुमत भएकाले विश्वासको प्रस्ताव पारित भएको हो ।
विश्वासको मतका लागि बोलाइएको बैठक प्रतिपक्षीविहीन बनेको थियो । बागमती प्रदेशमा विश्वासको मत लिने क्रममा प्रदेश सभा प्रतिपक्षी दलविहीन बनेको यो पहिलो पटक हो । नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य बैठकमा उपस्थित भएनन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीको एक पक्षले पनि बैठक बहिष्कार गरेको थियो ।
मुख्यमन्त्री थापाको प्रस्तावको पक्षमा नेकपा, नेकपा ९एमाले० र राप्रपाको एक पक्षले मतदान गरेका थिए । बागमती प्रदेश सभामा नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ प्रदेशसभा सदस्य रहेका छन् । थापा नेकपा, एमाले र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले सहमति र सहकार्यका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विपक्षी बेञ्च खाली रहेको अवस्थाप्रति टिप्पणी गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले बजेट कार्यान्वयनलाई प्राथमिकता दिँदै सरकारको साझा न्यूनतम कार्यक्रम छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो ।
प्रदेश सरकार संघीयताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रदेश सरकार बलियो भए मात्र संघीयता सुदृढ हुने धारणा राख्नुभयो । विश्वासको मतमाथिको छलफलमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल तथा राप्रपा संसदीय दलका नेता उद्धव थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।