धादिङ, असोज २५ गते। २०८३ असोज २५ गते बुढीगण्डकी बाढीबाट प्रभावित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २, आरुघाटका ६५ परिवारलाई कारितास नेपालको सहयोगमा प्रयास नेपाल, धादिङले वडा तथा गाउँपालिका समन्वयमा आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।
असोज २५ गते गाउँपालिका उपाध्यक्ष देवराज धरेलको रोहबरमा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको टोलीले प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको हो।
बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता परिपूर्ति गरी दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले चामल, दाल, खाने तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, आलु, प्याज, अन्य तरकारी तथा खानेपानी लगायतका खाद्य सामग्री उपलब्ध गराइएको छ। त्यसैगरी, परिवारको आधारभूत आवश्यकता पूरा गर्न कम्बल, फोम, त्रिपाल, नुहाउने साबुन, लुगा धुने साबुन, भाँडा माझ्ने सामग्री, दाँत माझ्ने ब्रस तथा मञ्जन, बालबालिकाका लागि लैक्टोजेन लगायतका ६ लाख बराबरको राहत सामग्री सहयोग गरिएको हो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष देवराज धरेलले स्थानीय सरकार र सामाजिक संस्थाबीचको समन्वय तथा सहकार्यले विपद् प्रभावित परिवारलाई विपद् भएको दिनमा नै तत्काल सहयोग सकिएको बताउनु भयो ।
प्राकृतिक विपद्का कारण प्रभावित समुदायको जीवनयापन सहज बनाउन तथा संकटको समयमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कारितास नेपालको साझेदारीमा कार्य गर्दै आएको प्रयास नेपालका फिल्ड संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।