मुग्लिन–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए ।
उनका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधनलाई आज असोज २४ गते बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ । असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई आज साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्न दिइनेछ । असोज २४ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको छ ।
असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ सवारीसाधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
उनका अनुसार त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ । त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिएको बताए ।
उनका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन । जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ ।