बागमती प्रदेशमा असोज महिनामा एक १६३ वटा सडक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । प्रदेशका १० जिल्लामा गत महिनामा भएको घटनामा परेर २८५ जना घाइते भएका थिए । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सो अवधिमा ५ हजार ४०६ वटा सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनामा कुल अपराधतर्फ ४३० वटा घटना अभिलेख भएका छन् भने जघन्य तथा गम्भीर अपराध १४५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध ३०, आर्थिक अपराध ११ र अन्य अपराध २४४ रहेको विवरणमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमला अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणका क्रममा ३४० जना पक्राउ परेका छन् । फैसला कार्यान्वयनतर्फ २७३ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने उनीहरूबाट ३६५ वर्ष ७ महिना २२ दिन कैद तथा २ करोड ४५ लाख ३५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।