इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी सैन्य अखडामा रहेका दुईवटा ‘प्याट्रियट’ वायु रक्षा राडार प्रणालीलाई क्षेप्यास्त्र र ड्रोनमार्फत निसाना बनाएको दाबी गरेको छ । बहराइनका अधिकारीहरूले भने आक्रमणबाट एक नागरिक औद्योगिक संरचनामा क्षति पुगेर आगलागी भएको बताएका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको र घटनामा कुनै मानवीय क्षति नभएको उनीहरूको भनाइ छ ।
इरानी सरकारी प्रसारक आईआरआईबीमार्फत जारी विज्ञप्तिमा आईआरजीसीको एयरोस्पेस फोर्सले बहराइनका अल–रिफा र अवाली सैन्य अखडामा रहेका अमेरिकी प्याट्रियट प्रणालीका दुई राडारलाई निसाना बनाएको उल्लेख छ ।
आईआरजीसीका अनुसार, अमेरिकी एमक्यू–१ र एमक्यू–९ ड्रोनले इरानी हवाई क्षेत्र उल्लंघन गरेको तथा हेंगाम टापुस्थित इरानी राडार केन्द्रमा भएको आक्रमणको जवाफमा उक्त कारबाही गरिएको हो ।
इरानले आफ्नो हवाई क्षेत्रलाई ‘रेड लाइन’ बताउँदै आगामी दिनमा यस्ता उल्लंघन भए कडा जवाफ दिने चेतावनी समेत दिएको छ ।