आइतवार, मंसिर ६ गते २०८३

Sunday, Nov 22 2026 आइतवार, मंसिर ६ गते २०८३

नेपाली समाजमा महँगिँदै विवाह संस्कार ! खुसीको बहार कि ऋणको भार ?

नेपाली समाजमा महँगिँदै विवाह संस्कार ! खुसीको बहार कि ऋणको भार ?

पुरुषोत्तम पाण्डे

५, मंसिर २०८३
  • 3.5K
    SHARES
  • नेपाली समाजमा महँगिँदै विवाह संस्कार ! खुसीको बहार कि ऋणको भार ?

    मंसिर लाग्यो। विवाहको मौसम सुरु भयो। गाउँघरदेखि सहरबजारसम्म विवाहका निम्तो आउन थालेका छन्। कतै बाजागाजा बज्दै छन् , कतै जन्तीको तयारी हुँदैछ, कतै बेहुला–बेहुलीको सजावट र भोजभतेरको चाँजोपाँजो मिलाइँदैछ।

    images

    विवाह दुई व्यक्तिको जीवनमा नयाँ अध्याय सुरु हुने खुसीको अवसर हो। परिवार र आफन्तबीच आत्मीयता साटासाट गर्ने, सामाजिक सम्बन्ध जोड्ने र नयाँ पारिवारिक जीवनको जग बसाल्ने सुन्दर संस्कार पनि हो।

    विवाह भनेपछि 'सुन' को प्रसङ्ग स्वतः जोडिएर आउँछ । नेपाली समाजको ठूलो हिस्सा ‘सुन’ भनेपछि मरिहत्ते गर्छ । आधुनिक र पढेलेखेका नवयुवतीहरू समेत विवाहको अवसरमा झपक्कै सुनका गहना लगाउन आतुर देखिन्छन् । अरू बेला क्रान्तिकारी भाषण गर्ने महिला नेतृ र सामाजिक अगुवाहरू समेत महँगो साडी र सुनमा सजिन रुचाउँछन् । हुनत औँलामा कसिला औँठी र घाँटीमा मोटा दाम्ले सिक्री लगाएर ढल्किने पुरुष पात्रहरू पनि समाजमा धेरै भेटिन्छन् ।

    विवाहकै सन्दर्भमा भन्नुपर्दा आजकाल ‘म दाइजो लिँदिनँ’ भन्ने युवाहरू धेरै निस्किसके, तर ‘म सुन लगाउँदिनँ’ भन्ने युवतीहरू चाहिँ हत्तपत्त निस्किँदैनन् । ‘मलाई महँगो गहना चाहिँदैन, बरु असल जीवनसाथी भए पुग्छ’ भन्ने युवती निकै दुर्लभ छन् । देशविदेश चहारेका, पढेका र बुझेका भनिएका महिलाहरूमा समेत सुनको लालच र आकर्षण उच्च देखिन्छ ।

    महँगो विवाह नेपाली समाजमा अहिले घरघरको चिन्ता हो। सिर्फ लोकलज्जा र सामाजिक प्रतिष्ठाका कारणले मुख खोल्न कोही तयार छैन। तर सबैलाई भित्रभित्रै पिरलो छ ।

    गहना प्रयोग गर्ने समुदायको विवाहमा कम्तीमा ८–१० तोला सुन खर्च हुने चलन छ। त्यो भनेको कम्तीमा २० देखि ३० लाख रुपैयाँसम्मको बजेट हो। जन्ती खर्च, भोजभतेर र अन्य खर्च बेग्लै छन् । सामान्य नेपाली परिवारका निम्ति विवाह भन्ने चिज अब महाभारत बन्दै गएको छ।

    विवाहको नाममा बढ्दै गएको खर्च, सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धा, देखासिकी र अनावश्यक तडकभडकले धेरै नेपाली परिवारलाई आर्थिक सङ्कटतर्फ धकेलिरहेको छ । विवाह खुसीको अवसर हुनुपर्नेमा तनाव, चिन्ता र ऋणको भारी बन्न थालेको छ ।

    विवाह गर्ने उमेरका धेरै नेपाली युवा कोही खाडी मुलुकमा पसिना चुहाइरहेका छन् र कमाएको पैसाले विवाहको तयारी गर्दैछन्। नेपालमै खेतीपाती र सानोतिनो उद्दम गर्ने युवाहरू ऋणधन गरेर विवाह गर्ने अनि ऋण तिर्न विदेश जाने योजना बनाउँदै होलान् । उनीहरूका लागि विवाह खाली जीवनसाथी रोज्ने र नयाँ जीवन सुरु गर्ने विषय मात्र रहेन आर्थिक व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती पनि बन्दै गएको छ। यो आम नेपाली युवाको सामुहिक व्यथा हो ।

    विवाहजस्तो स्वाभाविक र खुसीको विषयमा यति धेरै आर्थिक तनाव किन थपिँदैछ ? एउटा सामान्य पारिवारिक समारोह कसरी वर्षौंको कमाइ र बचत समाप्त गर्ने घटनामा परिणत हुँदैछ? अनि विवाहपछिको जीवन ऋण तिर्ने र परिवारबाट टाढा रहेर विदेशमा पसिना बगाउने बाध्यतामा किन पुग्दै छ ? यी प्रश्नहरू आज नेपाली समाजले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय बनेका छन् ।

    विवाहको संस्कारभन्दा देखावटी प्रतिस्पर्धा ठूलो :

    नेपाली समाजमा विवाह परम्परागत रूपमा पारिवारिक र सामाजिक संस्कारका रूपमा रहँदै आएको छ। विवाहमा आफन्त, इष्टमित्र र छरछिमेकी भेला हुने, मीठोमसिनो खाने, नाचगान गर्ने र शुभकामना आदानप्रदान गर्ने चलन आफैँमा नराम्रो होइन । समयअनुसार विवाहका शैली, पहिरन र समारोहमा परिवर्तन आउनु पनि स्वाभाविक हो। समस्या परम्परामा होइन, परम्पराको नाममा थपिँदै गएको अनावश्यक खर्च र देखावटी प्रतिस्पर्धामा छ।

    अचेल विवाहमा सुनका गहना, महँगा लत्ताकपडा, पार्टी प्यालेस, होटल, भोजभतेर, फोटो तथा भिडियो सुटिङ, सजावट र बाजागाजामा ठूलो रकम खर्च गर्ने प्रवृत्ति बढेको छ। त्यसमाथी हल्दी, मेहन्दी, सङ्गीत, रिसेप्सन र अन्य विभिन्न समारोह थपिँदै गएका छन्। विवाहको एउटा कार्यक्रम सम्पन्न गर्न पनि धेरै दिन र धेरै चरणका खर्च जुटाउनुपर्ने अवस्था छ।

    अझ विडम्बना के छ भने, विवाहमा कति खर्च गर्ने भन्ने निर्णय आफ्नो आर्थिक क्षमताका आधारमा भन्दा अरूले के गर्लान् र समाजले के भन्ला भन्ने आधारमा हुन थालेको छ। छिमेकीले पाँचसय जनालाई भोज खुवाए भने आफूले हजार जनालाई खुवाउनुपर्ने, आफन्तले महँगो उपहार दिए आफूले पनि त्यस्तै दिनुपर्ने, अरूले महँगो पार्टी प्यालेसमा विवाह गरे आफूले पनि त्यही स्तर कायम गर्नुपर्ने मानसिकता देखिन्छ।

    यसरी विवाह दुई व्यक्तिको जीवन जोड्ने अवसरभन्दा पनि आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने अस्वस्थ प्रतिस्पर्धा बन्दै गएको छ।

    विवाहमा हुने खर्चको कुनै निश्चित सीमा हुँदैन। कसैले आफ्नो क्षमताअनुसार लाखौँ खर्च गर्लान्, कसैले करोडौँ पनि खर्च गर्लान्। त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्छ। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब एउटा परिवारले आफ्नो क्षमता नभए पनि सामाजिक प्रतिष्ठा जोगाउन अरूको नक्कल गर्न थाल्छ।

    वास्तवमा विवाहमा उपस्थित हुने आफन्तले भोजको परिकार, गहनाको तौल र पार्टी प्यालेसको भव्यता केही समयपछि बिर्सन्छन्। तर त्यसका लागि लिएको ऋणको किस्ता र ब्याज भने परिवारले वर्षौंसम्म तिरिरहनुपर्छ।

    वर्षौंको बचत एउटै विवाहमा समाप्त हुने अवस्था :

    सामान्य नेपाली परिवारका लागि घरखर्च चलाउनु, छोराछोरी पढाउनु, स्वास्थ्योपचार गर्नु, घर बनाउनु र भविष्यका लागि केही रकम बचत गर्नु आफैँमा चुनौतीपूर्ण छ। नियमित आम्दानी सीमित हुन्छ। महँगी बढिरहेको छ । रोजगारी र आम्दानीका अवसर पनि सबैका लागि सहज छैनन् ।

    यस्तो अवस्थामा छोराछोरीको विवाहकालागि वर्षौं लगाएर जम्मा गरेको बचत एकैपटक खर्च गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

    मानौँ, एउटा परिवारले छोराछोरीको भविष्यका लागि १०–१५ वर्ष लगाएर केही लाख रुपैयाँ बचत गरेको हुन्छ। घरको छानो फेर्ने, जग्गा किन्ने, व्यवसाय सुरु गर्ने वा बुढेसकालका लागि सुरक्षित राख्ने सोच बनाएको हुन्छ । तर विवाहको प्रसङ्ग आएपछि सामाजिक प्रतिष्ठा र परम्पराको दबाबमा त्यो रकम एकैपटक खर्च हुन्छ।

    त्यति गर्दा पनि नपुगे थप ऋण लिनुपर्ने अवस्था आउँछ । कतिपय परिवारले जग्गा बेच्ने, घरजग्गा बैंकमा धितो राख्ने वा आफन्तसँग सापटी माग्ने गर्छन् । यसको अर्थ विवाहमा खर्च भएको रकम मात्र गुमेको होइन । त्यस रकमबाट भविष्यमा गर्न सकिने सम्भावित लगानी, आम्दानीको स्रोत र पारिवारिक सुरक्षाको आधारसमेत कमजोर भएको हुन्छ ।

    वैदेशिक रोजगारीबाट विप्रेषण प्राप्त गर्ने परिवारको वार्षिक खर्चमध्ये विवाहमा ठूलो हिस्सा खर्च हुने गरेको छ। विप्रेषण प्राप्त नगर्ने परिवारमा पनि विवाह खर्चको हिस्सा अत्याधिक छ। पसिना बगाएर कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकी सामाजिक प्रतिस्पर्धा र उपभोगमा खर्च भइरहेको देखिन्छ ।

    दाइजो, सामाजिक प्रतिष्ठा र बाध्यताको अर्थतन्त्र :

    विवाह खर्चको अर्को गम्भीर पक्ष दाइजो प्रथा र त्यससँग जोडिएको सामाजिक दबाब हो । दाइजो लिनु–दिनु हुँदैन भन्ने चेतना समाजमा बढेको छ । कानुनले पनि दाइजोको लेनदेनलाई निषेध गरेको छ । तर व्यवहारमा दाइजोको स्वरूप मात्र परिवर्तन हुँदै गएको देखिन्छ।

    तराई भेगमा कतै नगद मागिन्छ, कतै सुनचाँदी, कतै मोटरसाइकल, गाडी, फर्निचर र घरायसी सामानको अपेक्षा गरिन्छ । कतिपय अवस्थामा यस्ता मागलाई उपहार वा छोरीलाई खुसीसाथ दिएको सम्पत्तिका रूपमा प्रस्तुत गरिन्छ।

    विशेषगरी छोरीको विवाह गर्ने परिवारले सामाजिक प्रतिष्ठा र छोरीको भविष्यको चिन्ता दुवै बोकेर हिँड्नुपर्ने अवस्था छ। केटापक्षले प्रत्यक्ष माग नगरे पनि उनीहरूको आर्थिक हैसियतअनुसार व्यवहार गर्नुपर्ने अप्रत्यक्ष दबाब रहन सक्छ।

    अझ दुःखद कुरा, कतिपय परिवारले छोरीको विवाहका निमित्त ऋण लिनु आफ्नो बाध्यता ठान्छन्। छोरीको घरजम राम्रो होस्, माइतीको इज्जत रहोस् र विवाहपछि छोरीले अपमान सहन नपरोस् भन्ने चाहनाले उनीहरू आफ्नो क्षमताभन्दा बाहिर पुग्छन्।

    तर छोरीको खुसी र भविष्यलाई दाइजो तथा महँगो विवाहसँग जोडेर हेर्नु नै गलत सामाजिक सोच हो। विवाहमा धेरै सम्पत्ति दिन सक्ने परिवारले मात्र असल सम्बन्ध स्थापित गर्न सक्छ भन्ने मान्यता पूर्णतः अनुचित छ।

    विवाहपछि सुरु हुने ऋणको अर्को जिन्दगी :

    विवाह सम्पन्न भयो। पाहुनाहरू फर्किए। बाजागाजा बन्द भयो। पार्टी प्यालेसको हिसाब चुक्ता भयो। तर परिवारको वास्तविक परीक्षा त्यसपछि सुरु हुन्छ। विवाहकालागि लिएको ऋण तिर्न बाँकी हुन्छ । साहु र बैङ्कको किस्ता तिर्नुपर्नेछ। ब्याज बढिरहेको हुन्छ। घरखर्च, छोराछोरीको शिक्षा, स्वास्थ्योपचार र दैनिक आवश्यकताहरू पनि यथावत् हुन्छन्।

    अब परिवारले पहिलेको जीवनशैली कायम राख्न सक्दैन। कमाइको ठूलो हिस्सा ऋण तिर्न छुट्याउनुपर्ने हुन्छ। कतिपय अवस्थामा जग्गा बेच्नुपर्ने, व्यवसाय बन्द गर्नुपर्ने वा परिवारका सदस्यले थप काम खोज्नुपर्ने अवस्था आउँछ।

    अझ चर्को ब्याजमा अनौपचारिक ऋण लिएको छ भने ऋणको साँवा घटाउनुभन्दा ब्याज तिर्नमै कमाइ सकिन सक्छ। एउटा विवाहको खर्चले परिवारलाई आर्थिक रूपमा लामो समयसम्म असुरक्षित बनाइराख्न सक्छ।
    विवाहमा खर्च गर्ने क्षणमा परिवारले खुसी देखाउँछ, तर त्यसपछिका वर्षहरूमा ऋणको बोझले कति दुःख दिन्छ भन्ने कुरा बाहिर देखिँदैन।

    विवाहको ऋण र वैदेशिक रोजगारीको सम्बन्ध :

    नेपाली समाजमा वैदेशिक रोजगारीको एउटा ठूलो कारण स्वदेशमा पर्याप्त रोजगारी र आम्दानीका अवसर नहुनु हो। तर विवाहको बढ्दो खर्चले पनि कतिपय परिवारमा विदेश जाने आर्थिक दबाबलाई थप बढाउन सक्छ।

    विवाहका लागि ऋण लिएको युवा वा उसको परिवारसँग अब ऋण तिर्ने विकल्प सीमित हुन्छ। स्वदेशमा सामान्य जागिर वा सानो व्यवसायबाट अपेक्षित आम्दानी हुन नसकेपछि विदेश जाने निर्णय गर्नुपर्ने हुनसक्छ।

    कतिपय युवाले विवाहअघि नै विदेशमा कमाएर पैसा जम्मा गर्ने योजना बनाउँछन्। कतिपयले विवाहपछि केही समय सँगै बसेर ऋण तिर्न विदेश जाने निर्णय गर्छन्। कतिपय नवविवाहित जोडीले त विवाहको खुसी राम्ररी अनुभव गर्न नपाउँदै एकअर्काबाट टाढिनुपर्ने परिस्थिति भोग्छन्।

    यसरी विवाहले नयाँ जीवनको सुरुवात गराउनुपर्नेमा कतिपयका लागि विदेश यात्राको बाध्यता पनि थपिदिन्छ।

    हुनत वैदेशिक रोजगारीलाई विवाह खर्चको एकमात्र परिणाम मान्न मिल्दैन। बेरोजगारी, न्यून आय, अवसरको अभाव र आर्थिक असमानता आदि पनि यसका प्रमुख कारण हुन्। तर महँगो विवाह र त्यसबाट सिर्जना हुने ऋणले पहिलेदेखि नै कमजोर आर्थिक अवस्थामा रहेका परिवारको समस्या झन् जटिल बनाउन सक्छ।

    यसको अर्को विडम्बना के छ भने, विदेशमा कमाएको रकमले विवाह गरिन्छ, विवाहको ऋण तिर्न फेरि विदेश जानुपर्छ। विदेशमा कमाएर फर्किएको युवाले आफ्नै देशमा स्थिर जीवन निर्माण गर्ने सपना देख्छ, तर पारिवारिक आर्थिक दायित्वले उसलाई फेरि विदेशतिर धकेल्न सक्छ।

    यो चक्रले युवा पुस्ताको समय, श्रम र पारिवारिक जीवनमाथि गम्भीर प्रभाव पार्छ।

    दाम्पत्य दूरी र पारिवारिक सम्बन्धमा पर्ने असर :

    विवाहपछि नवदम्पतीले सँगै बसेर नयाँ जीवनको योजना बनाउनुपर्ने हो। एकअर्कालाई बुझ्ने, विश्वास बढाउने, सुखदुःख बाँड्ने र भविष्यको जग बसाल्ने समय हो यो। तर आर्थिक बाध्यताले धेरै जोडीलाई विवाहलगत्तै अलगअलग देशमा बस्नुपर्ने अवस्थामा पुर्‍याउँछ।

    श्रीमान् विदेशमा, श्रीमती नेपालमा। कतिपय अवस्थामा श्रीमती विदेशमा र श्रीमान् नेपालमा। महिनौँ र वर्षौंसम्म भेटघाट हुँदैन। मोबाइल र इन्टरनेटको माध्यमबाट मात्र सम्बन्ध बचाई राख्नुपर्ने हुन्छ।

    दूरीले मात्र वैवाहिक सम्बन्ध बिग्रिन्छ भन्ने होइन। धेरै जोडीले आपसी समझदारी, विश्वास र जिम्मेवारीका साथ लामो दूरीको सम्बन्ध पनि सफलतापूर्वक निर्वाह गरिरहेका छन्। तर भौतिक दूरीसँगै भावनात्मक दूरी बढ्ने, एकअर्काको आवश्यकता र अपेक्षा पूरा गर्न नसकिने, शङ्का–उपशङ्का उत्पन्न हुने र पारिवारिक जिम्मेवारी असन्तुलित हुने जोखिम भने रहन्छ।

    विशेषगरी नवविवाहित जोडीले सँगै बसेर बिताउनुपर्ने जीवनको प्रारम्भिक समय नै विदेश र स्वदेशको दूरीमा बिताउनुपर्दा सम्बन्धको आत्मीयता कमजोर हुनसक्छ। यस्ता परिस्थितिले पारिवारिक असमझदारी र तनाव बढाउन सक्छन्।

    त्यसैले महँगो विवाहले तत्कालीन आर्थिक समस्या मात्र सिर्जना गर्दैन, त्यसले वैवाहिक जीवनको सुरुवाती अवस्थामै चुनौती थप्न सक्छ।
    विवाह गर्नका लागि लिएको ऋण कसले तिर्ने ? विदेश जाने कि स्वदेशमै बस्ने ? कमाएको पैसा कसरी खर्च गर्ने ? घरपरिवारको जिम्मेवारी कसले कति लिने ? यस्ता विषयमा विवाद उत्पन्न हुनसक्छ।

    ऋणको दबाब, लामो दूरीको सम्बन्ध र एकअर्काप्रतिको असन्तुष्टिले कतिपय परिवारमा तनाव बढाउन सक्छ। कतिपय अवस्थामा यही तनावले पारिवारिक कलह, घरेलु हिंसा र अन्ततः सम्बन्ध विच्छेदसम्मको अवस्था निम्त्याउन सक्छ।

    सम्बन्ध विच्छेदका कारण बहुआयामिक हुन्छन् नै। यद्दपी चिन्ता गर्नुपर्ने विषय के हो भने, वैवाहिक जीवनको सुरुवातमै आर्थिक बोझ थपिँदा दम्पतीले आफ्नो सम्बन्धलाई स्वस्थ र सहज बनाउनुपर्ने समय ऋण व्यवस्थापन र आर्थिक सङ्घर्षमा बिताउनुपर्ने अवस्था आउँछ। यसले परिवारको समग्र वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छ।

    बालबालिकाको भविष्य र मानसिक स्वास्थ्यमा पर्ने असर :

    विवाहपछि सन्तान जन्मिन्छन्। उनीहरूको पालनपोषण, शिक्षा, स्वास्थ्य र मानसिक विकास अभिभावकको महत्त्वपूर्ण जिम्मेवारी हो। तर आमाबुबाबीचको लामो दूरी, पारिवारिक कलह र आर्थिक अस्थिरताले बालबालिकाको जीवनमा पनि असर पार्न सक्छ।

    कतिपय बालबालिका जन्मिएदेखि नै बाबु विदेशमा रहेको अवस्थामा हुर्किन्छन्। कतिपयले आमाबुबा दुवैको पर्याप्त साथ र समय पाउँदैनन्। हजुरबा–हजुरआमा वा अन्य आफन्तको संरक्षणमा हुर्किनुपर्ने हुन्छ।

    आमाबुबाले विदेशबाट पैसा पठाउनु महत्त्वपूर्ण भए पनि बालबालिकाको भावनात्मक आवश्यकताको विकल्प पैसा मात्र हुन सक्दैन। उनीहरूलाई माया, समय, सुरक्षा, संवाद र अभिभावकीय उपस्थितिको पनि आवश्यकता हुन्छ।

    त्यस्तै, घरमा निरन्तर आर्थिक तनाव, ऋणको चिन्ता, श्रीमान्–श्रीमतीबीचको विवाद र पारिवारिक अस्थिरता हुँदा बालबालिकाले असुरक्षित वातावरण अनुभव गर्न सक्छन्। यसको प्रभाव उनीहरूको पढाइ, व्यवहार, आत्मविश्वास र मानसिक स्वास्थ्यमा पर्न सक्छ।

    अर्कोतर्फ, आर्थिक तनावले वयस्कहरूमा पनि चिन्ता, अनिद्रा, निराशा र अवसाद (Depression) जस्ता समस्या बढाउन सक्छ। समस्याले असह्य रूप लिँदा मानसिक स्वास्थ्य गम्भीर सङ्कटमा पुग्न सक्ने सम्भावना पनि हुन्छ।

    ऋणको चाप, पारिवारिक विग्रह, बेरोजगारी र मानसिक तनाव एकैसाथ जोडिँदा जोखिमपूर्ण अवस्था सिर्जना हुन सक्छ। त्यसैले विवाहको खर्चलाई नितान्त व्यक्तिगत वा पारिवारिक विषय ठानेर बेवास्ता गर्न मिल्दैन। यो सार्वजनिक चासो र सामाजिक सचेतनाको विषय पनि हो।

    एउटा विवाहका खातिर सिङ्गो जिन्दगी समर्पण गर्नुपर्ने विडम्बना :

    मसिनो सँग केलाएर हेर्दा हाम्रो समाजमा एउटा गम्भीर विडम्बना देखिन्छ। मानिसले आफ्नो जीवनको ठूलो हिस्सा आर्थिक स्रोत जुटाउन खर्च गर्छ। छोराछोरीको शिक्षा, घरखर्च, स्वास्थ्य, भविष्य र बुढेसकालका निम्ति बचत गर्नुपर्ने हुन्छ। तर विवाहको एउटा समारोहका लागि वर्षौंको कमाइ खर्च गर्नुपर्ने अवस्था छ ।

    कसैले जीवनभरि दुःख गरेर कमाएको पैसा छोराछोरीको विवाहमा खर्च गर्छ। कसैले छोरीको विवाहका लागि खेतबारी बेच्छ। कसैले छोराको विवाहमा ठूलो भोज खुवाउन ऋण लिन्छ। कसैले विवाहको ऋण तिर्न फेरि विदेश जान्छ।

    अब प्रश्न उठ्छ की, हामीले आफ्नो जीवन परिवारको भविष्य बनाउन खर्च गर्ने कि समाजलाई देखाउन खर्च गर्ने?

    हामीले विवाहलाई जीवनको एउटा महत्त्वपूर्ण घटना मान्यौँ, तर त्यसलाई नै जीवनको सबैभन्दा ठूलो आर्थिक उपलब्धि वा प्रतिष्ठाको विषय बनायौँ भने भविष्यका निम्ति के बाँकी रहन्छ?

    विवाहपछि घर बनाउने, व्यवसाय सुरु गर्ने, सन्तानको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने, जग्गाजमिन जोड्ने वा आर्थिक रूपमा आत्मनिर्भर हुने योजना हुन सक्छन्। तर विवाहमै सबै स्रोत सकिएपछि ती योजना अधुरा रहन्छन्।

    मानिसले विवाहका लागि मात्र होइन, विवाहपछि सुरु हुने जीवनका लागि पनि आर्थिक तयारी गर्नुपर्छ। विवाहको दिन भव्य देखिनुभन्दा त्यसपछिको जीवन सुरक्षित र सुखद हुनु महत्त्वपूर्ण हो।

    विवाह व्यक्तिगत स्वतन्त्रता हो, सामाजिक प्रतिस्पर्धा होइन :

    विवाहमा कसले कति खर्च गर्ने भन्ने विषयमा व्यक्तिगत स्वतन्त्रता हुनुपर्छ। कसैसँग प्रशस्त सम्पत्ति छ र उसले आफ्नो इच्छाअनुसार खर्च गर्छ भने त्यसमा अनावश्यक हस्तक्षेप गर्नु उचित हुँदैन।

    तर आफ्नो आर्थिक हैसियतभन्दा बाहिर गएर अरूको देखासिकी गर्नु र सामाजिक प्रतिष्ठाकालागि ऋण लिनु विवेकपूर्ण निर्णय होइन। विवाहको वास्तविक सुन्दरता महँगो गहना, आकर्षक पहिरन, महँगो होटल वा भोजका परिकारमा हुँदैन। यसको सुन्दरता आपसी प्रेम, विश्वास, सम्मान, समझदारी र जिम्मेवारीमा हुन्छ।

    संसारका धेरै समाजमा विवाहलाई सरल र सीमित खर्चमा सम्पन्न गर्ने अभ्यास पनि छन् । कतिपयले परिवारका सदस्य र नजिकका आफन्तको उपस्थितिमा विवाह गर्छन्। कतिपयले सामूहिक विवाहको अभ्यास गर्छन्। यस्ता अभ्यासबाट हामीले पनि सिक्न सक्छौँ।

    यो समस्या आज अचानक देखा परेको होइन। वर्षौँदेखि समाजमा उठिरहेको विषय हो। तर हाम्रो व्यवहारमा अपेक्षित परिवर्तन आउन सकेको छैन।

    अब के गर्ने ? सामाजिक सुधारका केही व्यावहारिक उपाय :

    विवाहको नाममा बढिरहेको आर्थिक बोझ कम गर्न व्यक्ति, परिवार, समुदाय र राज्य सबैको भूमिका आवश्यक छ।

    पहिलो कुरा, आफ्नो आर्थिक क्षमताअनुसार विवाह गर्ने संस्कार बसालौँ । विवाहको बजेट पहिले नै निर्धारण गरौँ। ऋण लिएर भोज गर्ने, अरूको देखासिकीमा महँगो कार्यक्रम राख्ने र आफ्नो क्षमताभन्दा बाहिर जाने प्रवृत्ति त्यागौँ। आफ्नो आम्दानी र बचतअनुसार विवाह गर्नु नै बुद्धिमानी हो।

    दोस्रो कुरा, विवाहका अनावश्यक चरण र तडकभडक घटाऔँ। हल्दी, मेहन्दी, सङ्गीत, भोज र अन्य कार्यक्रम राख्नैपर्छ भन्ने बाध्यता हटाऔँ। आफ्नो संस्कृति र परम्पराअनुसार आवश्यक संस्कारलाई निरन्तरता दिँदै अनावश्यक खर्च कटौती गर्न सकिन्छ। परम्परा जोगाउने नाममा आर्थिक बोझ थप्नु आवश्यक छैन।

    तेश्रो, दाइजो प्रथालाई सामाजिक रूपमा बहिष्कार गरौँ। दाइजो लिनु र दिनु दुवैलाई सामान्य सामाजिक व्यवहारका रूपमा स्वीकार नगरौँ। छोरीको विवाहकालागि सम्पत्ति, नगद वा महँगा सामान जुटाउनुपर्ने दबाबको विरोध गरौँ। दाइजो नलिने र नदिने परिवारलाई सामाजिक सम्मान गर्ने वातावरण बनाऔँ।

    चौथो कुरा, विवाहमा खर्च गर्ने रकम भविष्यमा लगानी गरौँ। महँगो भोज र अनावश्यक सजावटमा खर्च हुने रकम नवदम्पतीको घरजग्गा, शिक्षा, व्यवसाय, सीप विकास वा बचतमा लगानी गर्न सकिन्छ। विवाहको खुसीलाई भविष्यको आर्थिक सुरक्षासँग जोडौँ।

    पाँचौ , सामूहिक र सरल विवाहलाई प्रोत्साहन गरौँ। स्थानीय तह, सामाजिक संस्था, युवा क्लब तथा समुदायले सामूहिक विवाहका कार्यक्रम सञ्चालन गर्न सक्छन्। आर्थिक रूपमा कमजोर परिवारका युवायुवतीलाई सम्मानजनक र सरल विवाहको अवसर दिन सकिन्छ।

    छैठौं कुरा , अभिभावकले छोराछोरीलाई सामाजिक प्रतिष्ठाभन्दा आर्थिक विवेक सिकाऔँ। छोराछोरीको विवाहमा आफ्नो सम्पूर्ण बचत खर्च गर्नु वा ऋण लिनु नै अभिभावकीय जिम्मेवारी हो भन्ने सोच परिवर्तन गर्नुपर्छ। विवाह गरिदिएर मात्र अभिभावकीय दायित्व पूरा हुँदैन। उनीहरूको भावी जीवन सुरक्षित बनाउनु अझ महत्त्वपूर्ण छ।

    सातौँ कुरा, युवायुवतीले पनि आफ्नो निर्णय आफैँ गर्न सक्नुपर्छ । विवाह गर्ने उमेर पुगेका युवायुवतीले आफ्नो आर्थिक अवस्था, क्षमता र भविष्यको योजना बुझ्नुपर्छ। विवाहमा महँगो सुन नलगाउने , अनावश्यक खर्च नगर्ने, दाइजो नलिने–नदिने र सरल जीवनशैली अपनाउने विषयमा आपसी सहमति गर्नुपर्छ। परिवार र समाजको अनावश्यक दबाबलाई विवेकपूर्ण ढङ्गले अस्वीकार गर्न सक्नुपर्छ।

    अन्तिममा स्थानीय तह र राज्यले सचेतना अभियान चलाउनुपर्छ। दाइजोविरुद्धको कानुन कार्यान्वयन, सामाजिक कुरीतिविरुद्ध जनचेतना र सरल विवाहलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यालय, कलेज, युवा क्लब र सामुदायिक संस्थामार्फत विवाहको आर्थिक व्यवस्थापन र पारिवारिक जिम्मेवारीसम्बन्धी शिक्षा दिन सकिन्छ।

    समग्रमा हामीले बुझ्नुपर्छ की, विवाहको खुसी ऋणको चाङ्मा नपुरियोस् !विवाहको उत्सव र खाई खर्च एक दिनको निम्ति हो, तर त्यसकालागि लिएको ऋणको भार वर्षौंसम्म रहन सक्छ।

    विवाहको दिन लगाएको महँगो पहिरन केही समयपछि दराजमा थन्किन्छ, तर ऋणको किस्ता भने महिनैपिच्छे तिर्नुपर्छ। भोजका परिकार केही घण्टामै सकिन्छन्, तर त्यसका लागि खर्च भएको पैसा जुटाउन परिवारले वर्षौं पसिना बगाउनुपर्ने हुन सक्छ।

    आखिर विवाह दुई व्यक्तिले सँगै जीवन बिताउने प्रतिबद्धता हो, दुई परिवारले ऋणको भारी बोक्ने प्रतिस्पर्धा होइन। विवाहपछि सुखी र सुरक्षित जीवन बिताउन सक्ने वातावरण निर्माण गरौँ।

    लेखकका अन्य लेखहरु : 

    ८० लाख खर्चेर अमेरिका : रहर कि बाध्यता ?
    https://nagarikpati.com/2026/11/14/29849

    लोकतन्त्रको संकट : अन्धभक्ति र प्रोपोगान्डा
    https://nagarikpati.com/2026/11/06/29822

    ‘आयो दशैँ ढोल पिटाई, गयो दशैँ ऋण बोकाई’ चाडको चमकभित्र लुकेको गरिबीको अँध्यारो
    https://nagarikpati.com/2026/10/28/29780

    पसिना पोख्नेहरु सधैं पीडित किन ? ‘मडसिल’को कथा र नेपाली समाजको व्यथा !
    https://nagarikpati.com/2026/10/03/29711


    पैसामुखी र भ्रष्ट समाज निर्माणको तयारी ! के जोड्यौ ? कति कमायौ ?
    https://nagarikpati.com/2026/09/25/29680

    ‘तिमीहरूले यसपटक पनि केही सिकेनौ ?’ प्रकृतिले फेरि सोध्नेछ !
    https://nagarikpati.com/2026/09/15/29651

    डाँडामा बस्ती, बेँसीमा खेती : पुर्खाको बुद्धिमत्ताबाट हामीले के सिक्ने ?
    https://nagarikpati.com/2026/09/04/29617

    बलात्कारी को हुन् र कहाँ बस्छन् ?
    https://nagarikpati.com/2026/08/25/29577

    जेनजी सपना ! इतिहासकै युवामय संसद र फितलो प्रस्तुती
    https://nagarikpati.com/2026/08/16/29541

    बिदा नै बिदाको चाङ् ! पचास दिन नयाँ बिदा थप !
    https://nagarikpati.com/2026/08/08/29499

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०८३ शनिवार - १८:२५:२४ बजे

    पुरुषोत्तम पाण्डे

    लेखक पाण्डे समसामयिक विषयमा कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology