निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थल पुनरावलोकन गर्ने भएको छ । त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आयोगले सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका सबै स्थानीय तहलाई परिपत्र गर्दै आवश्यक जानकारी तथा कार्यार्थ अनुरोध गरेको छ ।
निर्वाचन आयोगको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले मतदान स्थल पुनरावलोकनसम्बन्धी निर्णय गरेको थियो । निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको समितिमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयका सचिव सदस्य छन् ।
‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ को व्यवस्थाअनुसार ‘कार्यक्रम कार्यान्वयन योजना, २०८३’ बमोजिम सबै जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई मतदान स्थल पुनरावलोकनको कार्य गर्न र गराउन बैठकले निर्णय गरेको हो ।
उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउन आयोगले मंसिर ७ गते नै दुवै मन्त्रालयलाई पत्राचार गरेको थियो ।