काठमाण्डौँ । डमरु बनाएर रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद गरेसँगै तस्करको यो शैली खुलेको हो । बौद्धमा रहेको डमरु कारखानाबाट रक्तचन्दनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका सुनिल तामाङ, ओमबहादुर तामाङ, कैलाश तामाङ र लाक्पा तामाङ रहेको महाशाखाका एसएसपी दिपक थापाले बताउनुभयो ।
ओमबहादुर तामाङ भारतको दिल्लीमा काम गर्दा एक व्यक्तिसँग भेट भएको थियो । लकडाउन सुरु भएपछि उनीहरु नेपाल आएर डमरु कारखानामा बसे । तिनै व्यक्तिले रक्तचन्दनका दुईवटा मुढा दिएर डमरु बनाइदिन भनेको बयान उनले प्रहरीमा दिएका छन् । यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।