जिवनपुर । खानेपानी घर–घरमा आएपछि जिवनपुर ढुङ्गाना गाउँकी विन्दु मुडवरी खुसी भएकी छिन् । उनले केही समय अघि पानीका लागि घण्टौँ सम्म समय लगाएर कुवामा जानु पर्ने बाध्यताको अन्त्य भएको बताइन् । अहिले आँगनमा रहेको पानीको धारो सपनामा देखे जस्तो लागिरहेको उनको भनाई छ । आँगनमै पानी आईपुगेपछि समय बचत भएको मुडवरीले बताईन् ।
यस्तै जिवनपुर मगरगाउँका दिनेश मगर पनि खुसी छन् । खानेपानी घरमा आए पछि अन्य घरायसी काम गर्न समय भएको मगर बताउँछन् । केहि समय अगाडी पानीका लागि विहान विताउनु पर्दथ्यो, अनि बच्चाहरु विद्यालय जाँदा भोकै जानु पर्ने समस्या थियो । अहिले यो समस्याको अन्त्य भएको मगरको भनाई छ ।
धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ४ जिवनपुरको बज्रकोटमा डिपबोरिङ खानेपानी स्थानियको घर–घर सम्म आएपछि मुडवरी र मगर जस्तै धेरै स्थानियको मुहारमा खुसी छाएको छ ।

विहिबार मात्र बज्रकोट डिपबोरिङ खानेपानी सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकार (डि एफ आइ डि) र ःइत्त् ःब्ऋम्इल्ब्ीम को आर्थिक सहयोगमा अक्सफाम, प्रयास नेपाल धादिङ र धुनिबेशी नगरपालिकाको साझेदारीमा सञ्चालित बज्रकोट डिपबोरिङ खानेपानी उपभोक्ता समितिलाई निर्माण सम्पन्न भए पछि स्वामित्व हस्तान्तरण गरिएको हो ।

आ व २०७६÷७७ मा सम्झौता भए अनुसार खानेपानी आयोजना सम्पन्न गरी उपभोक्ताहरूको उपस्थितिमा अक्सफाम तथा प्रयास नेपालबाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई विधिवत रूपमा स्वामित्व हस्तान्तरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
उहाँका अनुसार धुनिबेशी नगरपालिका वडा नम्बर ४ बज्रकोटका १०४ घरधुरीमा एक घर एक धारा मार्फत वितरण गरिएको हो । खानेपानी आयोजनाको कुल लागत ९३ लाख ६१ हजार ३ सय ९९ रूपैयाँ रहेको छ ।

१ सय ४ धारा मार्फत ४ सय ६४ भन्दा बढि नागरिकले खानेपानी उपभोग गर्न पाएको कार्यपालिका सदस्य रिता अधिकारी रेग्मीले बताउनु भयो ।
विहिबारको औपचारिक कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका उपमेयर निरु खरेलले चुनावको बेलामा नागरिकले माग गरेको खानेपानी जिवनपुरवासीलाई उपभोग गर्न सक्ने गरि घर–घरमा धारो निर्माण प्रकृयामा सहयोग गरेकोमा प्रयास नेपाललाई धन्यवाद दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरपालिकाका मेयर बालकृष्ण आचार्यले काकाकुल रहेको जिवनपुरमा आफु निर्वाचित भए पछि डिपबोरिङ बाट नागरिकलाई घर–घरमा खानेपानी उपलब्ध गराउन पाएकोमा खुशी भएको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, कार्यपालिका सदस्य रिता अधिकारी रेग्मी, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, बज्रकोट डरपबोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष आनन्द कुमार गौतम लगायतको सहभागीता रहेको थियो ।