धादिङ । धादिङको थाक्रे गाउँपालिकामा दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदो रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला कृषि विकास कार्यालय धादिङको आयोजनामा शनिबार थाक्रे गाउँपालिका–१ वितलपमा कार्यक्रम आयोजना गरिएको हो।
नेपालमा गत वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालिएको हो। कोदो खेतीको संरक्षण, प्रवर्द्धन, उत्पादन वृद्धि तथा यसको पोषण महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवसका अवसरमा सामूहिक कोदो रोपाइँ कार्यक्रम आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, उत्पादन विस्तार र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले कोदो पोषणयुक्त, जलवायु अनुकूल तथा किसानमैत्री बाली भएकाले यसको उत्पादन र उपभोग बढाउन आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा थाक्रे गाउँपालिका–१ का वडाध्यक्ष श्यामसुन्दर थापा, कृषि विकास कार्यालय धादिङका कृषि अर्थ विज्ञ प्रेमबहादुर कुँवर, कृषि आधुनिकीकरण कार्यक्रमका कृषि अधिकृत मदन देवकोटा, भूमेस्थान साना किसान कृषि सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, थाक्रे गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुदर्शन पोखरेल तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो।