बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। सचिवालयले सोहीअनुसार बैठकसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ।
प्रदेश सभाको जारी दोस्रो कार्यकालको ३ वर्ष ९ महिनाको अवधिमा मुख्यमन्त्रीले छैटौँ पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि विभिन्न समयमा मुख्यमन्त्रीहरूले ५ पटक विश्वासको मत लिइसकेका छन्।
विसं २०८२ साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते संसद्बाट विश्वासको मत लिएका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकार बनाएका उनी सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका हुन्। अल्पमतमा परेपछि उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।