वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै भदौ ७ गते आइतबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने जनाएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आइतबार दिउँसो १ बजेको समय निर्धारण गरेकी हुन् । बैठकमा थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ६३ सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए । १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।