धादिङ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको पुल बग्दा सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेँसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–गजुरीटार–पिपलटार–अमनटार–आदमटार–बेलिनटार–क्यूरेनीटार हुँदै मास्टारसम्म जोडिने वैकल्पिक सडक सञ्चालनमा आएको हो ।
त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि धादिङबेँसीसँग काठमाडौंलगायत बाहिरी क्षेत्रको नियमित सडक सम्पर्क प्रभावित भएको थियो । वैकल्पिक सडक सञ्चालनमा आएपछि सदरमुकामबाट बाहिरी क्षेत्रमा जाने तथा बाहिरी क्षेत्रबाट धादिङबेँसी आउने आवागमन सहज हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।