धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा आज करिब २० मिटर सडक भासिएको हो । सडक भासिएसँगै आज बिहानदेखि पृथ्वी राजमार्गमा यातायात आवागमन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ काठमाडौँ – बाइरोड–नौबिसे–पालुङ–भैँसे – हेटौडा मार्ग हुँदै सञ्चालन गरिएको छ । साना सवारीसाधन तथा माइक्रोबसलाई भने फर्पिङको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
यसैबीच, कान्तिलोकपथमा पहिरोका कारण सडक अवरुद्ध रहेकाले उक्त मार्ग सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।