धादिङ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्र प्रभावित बनेपछि धादिङको गल्छी गाउँपालिकाका पाँच विद्यालयका करिब ३ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।
गल्छी गाउँपालिकाले सङ्कलन गरेको विवरण अनुसार जनकल्याण माध्यमिक विद्यालय, बागेश्वरी माध्यमिक विद्यालय, द राइजिङ भिलेज इङ्ग्लिस स्कुल, सक्सेस एकेडेमी र अम्लेश्वर गुरुकुल वेद विद्याश्रम गरी पाँच विद्यालयका करिब ३ हजार १ सयभन्दा बढी विद्यार्थी बाढीको प्रत्यक्ष असरमा परेका छन्।
जनकल्याण माध्यमिक विद्यालयका ६५८ विद्यार्थीमध्ये ५४ जना विद्यार्थीलाई विद्यालय आउन समस्या भएको छ। त्यस्तै द राइजिङ भिलेज इङ्ग्लिस स्कुलका ८८८ विद्यार्थीमध्ये १९८ जना विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसक्ने अवस्थामा रहेका छन्। सक्सेस एकेडेमीका १ हजार १ सय ९२ विद्यार्थीमध्ये ११५ जना विद्यार्थी प्रभावित भएका छन्।
अम्लेश्वर गुरुकुल वेद विद्याश्रममा अध्ययनरत २२ जना विद्यार्थीलाई भने विद्यालय पूर्ण रूपमा क्षति पुगेकाले तत्काल अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको गाउँपालिकाले जनाएको छ।
बाढीका कारण सडक तथा आवागमनका संरचनामा क्षति पुगेपछि फोस्रेटार, केउरेनी, कल्लेरीटार, रातामाटे, महादेवफाँटलगायत क्षेत्रका विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसकेको जनाइएको छ।
गाउँपालिकाले प्रभावित विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्थापन तथा आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।