पहाडी र हिमाली भूभागमा पहिले ‘गाउँ’ र ‘बेँसी’ भन्ने शब्दको बेग्लै अर्थ र बुझाइ थियो।
सामान्य अर्थमा गाउँ भनेको मानिसको बसोबास भएको ठाउँ हो। तर परम्परागत पहाडी समाजमा गाउँ भन्नाले नदी, खोला, फाँट र टार भन्दा माथिल्लो, तुलनात्मक रूपमा सुरक्षित भूभागमा रहेको मानव बस्तीलाई बुझिन्थ्यो।
बेँसी भनेको तल्लो तटीय भूभाग थियो, जहाँ पानीको सुविधा हुने, खेतीपाती गर्न सकिने र अन्न उत्पादन हुने गर्थ्यो। बेँसीलाई मुख्यतः खेतीयोग्य भूमि मानिन्थ्यो। सकेसम्म बेँसीमा मानव बस्ती बसाइँदैनथ्यो।
हाम्रा पुर्खाहरू बेँसीमा सकेसम्म बास बस्दैनथे। बसोबासका लागि बेँसीलाई जहिल्यै जोखिमपूर्ण स्थान मानिन्थ्यो। खोलानालाको भेलबाढी, रोगव्याधि र विशेषगरी औलो ज्वरोको डर हुन्थ्यो। अत्यावश्यक अवस्था नपरी बेँसीमा रात बिताउने चलन थिएन।
बेँसीको बसाइँलाई ढुक्क र सुरक्षित बसाइँ मानिँदैनथ्यो।
सडक र यातायातको सुविधा नभएको त्यो समयमा मानिसहरू तीर्थयात्रा, व्यापार वा सरकारी कामकाजका लागि लामो दूरी पैदल हिँड्नुपर्थ्यो। यात्राका क्रममा नदी किनारका पाटी, पौवा वा सत्तलमा रात बिताउनुपरेमा समेत मानिसहरू पूर्ण रूपमा निश्चिन्त भएर सुत्दैनथे। कम्तीमा एक जनालाई कुरुवा राखेर आलोपालो सुत्ने, आगो बालेर जाग्राम बस्ने जस्ता अभ्यास थिए।
अर्थात्, अत्यावश्यक काम नपरी कोही पनि बेँसीमा रात बिताउन चाहँदैनथ्यो।
यसबाट एउटा महत्वपूर्ण कुरा बुझ्न सकिन्छ की , हाम्रो पुर्ख्यौली अनुभव र अभ्यासमा मानव बसोबासका लागि उपयुक्त स्थान तुलनात्मक रूपमा अग्लो र सुरक्षित भूभागलाई मानिन्थ्यो, जहाँ खोला–नाला र बाढीको तत्काल खतरा कम हुन्थ्यो र मानिस ढुक्कसँग बसोबास गर्न सक्थे।
सायद, हाम्रा पुर्खाले बनाएको ‘गाउँ’को मूल अवधारणा यही थियो।
बेँसी झरेका पछिल्ला गाउँ
समयसँगै औलो नियन्त्रण र उन्मूलन भयो। मानिसहरूको जीवनशैली बदलियो। सुविधा र अवसरको खोजी बढ्दै गयो। अनि मानिसहरू बिस्तारै बेँसीतर्फ बसाइँ सर्न थाले।
बेँसीका ठाउँलाई पनि फलानो गाउँ, ढिस्कानो गाउँ भनेर नामकरण गर्न थालियो। तर हाम्रा पुर्खाको परम्परागत बुझाइमा आजको बेँसी कहिल्यै गाउँ थिएन।
परम्परागत अर्थमा त्यो मुख्यतः खेतीपाती गर्ने र अन्न उत्पादन गर्ने थलो थियो।
पछि पहाडका फेदी हुँदै खोला र नदी किनारमा सडक पुग्यो। गाडी गुड्न थाले। होटल खुले। व्यापारिक केन्द्रहरू विकास भए। फलानो बजार, यो बजार, त्यो बजार भनेर नयाँ ठाउँहरूको पहिचान बन्न थाल्यो।
बिस्तारै सहरीकरण भयो।
विद्यालय खुले, क्याम्पस सञ्चालन भए, अस्पताल बने र आधुनिक सहरहरू विकास भए। हुँदै जाँदा ठूला–ठूला उद्योग तथा कलकारखाना स्थापना भए। औद्योगिकीकरण भयो। अर्बौं रुपैयाँका लगानी त्यहीँ केन्द्रित हुन थाले।
विकासको अधिकांश संरचना बेँसीमै खनियो।
तर विडम्बना के भयो भने, त्यो हाम्रा पुर्खाले सुरक्षित ठानेर रोजेको गाउँ थिएन। त्यो उही भूभाग थियो, जहाँ हाम्रा पुर्खाहरू हत्तपत्त रात बिताउनसमेत तयार हुँदैनथे।
बेँसीमा बढेको रौनक र रवाफ :
सांस्कृतिक रूपमा पनि बिस्तारै बेँसीको आकर्षण बढ्दै गयो। जात्रा, चाडपर्व र मेलाहरू त्यहीँ केन्द्रित हुन थाले। बेँसी भेगको रौनक एकाएक बढ्यो।
सामाजिक रूपमा पनि बेँसी झर्नु र बजारमा घर हुनु प्रतिष्ठाको विषय बन्न थाल्यो। बजारमा बस्ने मानिसहरूको आम्दानी र आर्थिक अवसर बढ्दै गए। समाजमा एउटा नयाँ वर्गको विकास भयो।
बिस्तारै बेँसीमा बस्ने मानिसलाई विकसित र प्रगतिशील मानिन थालियो। गाउँमा घर भएका मानिसहरूलाई पिछडिएको र गरिबजस्तो दृष्टिले हेर्न थालियो। पैसा नभएर वा नसकेर गाउँमै बसेका हुन् भन्ने बुझाइसमेत विकसित भयो।
गाउँ हेपिन थाल्यो।
गाउँमा बस्ने युवाहरूलाई विवाह गर्नसमेत कठिन हुन थाल्यो। छोरीको विवाहका लागि सकेसम्म बेँसी, सडकखण्ड र बजार भएका ठाउँ खोज्न थालियो। बजारको रवाफ बेग्लै थियो र आज पनि छ।
तर जति विकास भए पनि बेँसी हिजो पनि जोखिमपूर्ण थियो र आज पनि छ।
अहिले त जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा बढ्दो तापमानले नदी प्रणालीसँग जोडिएका सहर र बस्तीहरूमा अझ ठूलो खतरा सिर्जना गरिरहेको छ। ढिलो वा चाँडो दुखदायी दिनहरू आउन सक्ने सम्भावनालाई अब बेवास्ता गर्न सकिँदैन।
जोखिमपूर्ण बस्तीमै धेरै पूर्वाधार :
देशभर रहेका नदी निर्मित फाँट र टारहरू आज उत्पादन र बसोबासका प्रमुख क्षेत्र बनेका छन्।
उद्योग, कलकारखाना, सरकारी कार्यालय, अदालत, बैंक, व्यावसायिक प्रतिष्ठान, अस्पताल, क्याम्पस—सबै यिनै क्षेत्रमा केन्द्रित छन्।
खर्बौं रुपैयाँ लागतका राजमार्ग, करोडौँ खर्च गरेर बनेका पुल तथा अन्य महँगा भौतिक संरचना पनि खोल्सी, खोच, टार, फाँट र नदी किनारमै बनेका छन्।
अधिकांश स्थानीय तहका केन्द्र र कतिपय जिल्लाका सदरमुकामसमेत नदी तथा खोला किनारमै रहेका छन्।
आज देखिएको बाढी र विपत्तिको अवस्था हेर्दा नेपालका नदी किनारमा रहेका अन्य धेरै सहर र ठूलो जनसंख्या पनि ढिलोचाँडो यस्तै संकटमा नपर्ला भन्न सकिँदैन।
नदी किनारका धेरै राजमार्ग र बस्ती उच्च जोखिममा छन्।
खतराको घण्टी बजिसकेको छ।
प्रकृतिले संकेत दिइसकेको छ।
अब पनि नबुझ्नु वा बुझेर पनि बेवास्ता गर्नु हाम्रो कमजोरी हुनेछ।
मानिसले धेरै ठाउँका बेँसी र खेतीयोग्य फाँट मासेर बस्ती बसायो।
आज सम्झँदा र वर्तमान अवस्था हेर्दा यस्तो लाग्छकी, हामीले कतै आफैलाई मूर्ख बनाएका त छैनौँ?
नदी किनारमा घर–घडेरी जोडेर, विकास र प्रगतिको नाममा, हामीले आफ्नै सन्ततिलाई सम्भावित विपत्तिको जोखिमतर्फ धकेलेका त छैनौँ?
बाढीको विनाशमा फस्न सक्ने जोखिमयुक्त धरापतर्फ मानिसहरूलाई पुर्याउँदै हामी विकास भएको भ्रममा रमाएका पो रहेछौँ कि?
आजको विपत्तिले धेरैलाई झसङ्ग बनाएको छ।
कष्टपूर्ण अवस्था र एउटा ठूलो सिकाइ :
आज हजारौँ नागरिकले घर र सम्पत्ति गुमाएका छन्। कतिले आफ्ना प्रियजन गुमाएका छन्। बालबालिका टुहुरा भएका छन्। परिवारहरू भताभुङ्ग भएका छन्।
यस्ता दुखद क्षतिका बाबजुद बाढी र विपत्तिले हामीलाई एउटा गम्भीर पाठ पढाएको छ।
यो क्षति र रुवाबासीलाई एउटा दुःखद घटनाको रूपमा मात्र होइन, भविष्यका सन्ततिका लागि सुरक्षित बसोबास निर्माण गर्ने चेतावनी र सिकाइका रूपमा पनि लिनुपर्छ।
आजको पीडा राज्य र जनता दुवैका लागि ठूलो सवक हो।
नेपालको उत्तरी क्षेत्रमा हजारौँ हिमताल, हिमनदी तथा हिमपहिरोको जोखिमयुक्त क्षेत्रहरू रहेका छन्। ती हिमालमाथि झुन्डिएको तरबारजस्तै छन्।
कुनै पनि बेला कुनै स्थानमा संकट उत्पन्न हुन सक्छ।
कसरी जोगिने र जोगाउने ?
हिमालय क्षेत्रमा हिमपहिरो, पहाडी नदीहरूमा बाढी र तराई क्षेत्रमा डुबान जस्ता समस्या हामीले निरन्तर भोगिरहेका छौँ।
विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तन र वातावरणीय असन्तुलनले यी जोखिमलाई अझ गम्भीर बनाइरहेका छन्।
दीर्घकालीन रूपमा हेर्दा, उच्च जोखिमयुक्त बस्तीको स्थानान्तरण नै सबैभन्दा प्रभावकारी उपाय हुन सक्छ। तर यो तत्काल सम्भव छैन।
बेँसी र नदी किनारमा खर्बौं रुपैयाँको सम्पत्ति थुप्रिएको छ। अर्बौंका पूर्वाधार छन्। लाखौँ मानिसको बसोबास छ। उद्योग, व्यापार, सडक र सरकारी संरचना छन्।
त्यसैले व्यापक स्थानान्तरण अत्यन्त चुनौतीपूर्ण छ।
यस्तो अवस्थामा तत्कालका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेको पूर्वानुमान र पूर्वसूचना प्रणालीको प्रभावकारी विकास हो।
विज्ञान र प्रविधिको सहायताले सम्भावित बाढी, हिमपहिरो तथा अन्य प्राकृतिक विपत्तिको समयमै पूर्वानुमान गर्नुपर्छ। त्यसअनुसार नागरिकलाई तत्काल सूचना प्रवाह गर्ने र आवश्यक सुरक्षा सावधानी अपनाउने व्यवस्था गर्नुपर्छ।
हिमाल तथा अग्ला पहाडी क्षेत्रमा आधुनिक निगरानी प्रणाली, सेन्सर, स्वचालित मापन उपकरण र अन्य पूर्वचेतावनी संयन्त्र स्थापना गर्नुपर्छ।
सूचना प्राप्त हुनेबित्तिकै तलका जोखिमयुक्त बस्तीमा शीघ्र सूचना पुग्ने व्यवस्था हुनुपर्छ।
जनता सजग र सतर्क रहनुपर्छ। सरकारले पनि सम्भावित जोखिमयुक्त क्षेत्रमा जनधनको सुरक्षाका लागि आवश्यक स्रोत–साधनसहित तत्काल प्रतिकार्य गर्न सक्ने तयारीमा रहनुपर्छ।
हाम्रा पुर्खाले अनुभवका आधारमा सुरक्षित भूगोल रोजेका थिए।
हामीले विकासको नाममा जोखिमयुक्त भूगोल रोज्यौँ।
अब प्रकृतिले दिएको चेतावनीलाई बेवास्ता गर्ने कि त्यसबाट सिकेर भविष्यका पुस्ताका लागि सुरक्षित नेपाल निर्माण गर्ने—त्यो निर्णय हाम्रो हातमा छ।