प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने तय भएको छ । नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गरी प्रधानमन्त्री शाहलाई उक्त दिन महासभामा सम्बोधनको समय तोकेको हो ।
न्यूयोर्कस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेको छ । त्यसअनुसार अमेरिका भ्रमणको तयारी अगाडि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्यूयोर्कस्थित नेपाली नियोगबाट प्रधानमन्त्रीको सम्बोधन असोज ८ अर्थात् सेप्टेम्बर २४ मा तोकिएको जानकारी प्राप्त भएको छ । यससँगै मन्त्रालयले उक्त जानकारी प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।
अहिलेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा हुने ८१औँ महासभामा ११८ देशका प्रतिनिधिहरू सम्बोधनका लागि सूचीकृत भइसकेका छन् । अधिकांश वक्ता राष्ट्रप्रमुख, सरकारप्रमुख वा परराष्ट्रमन्त्री नै रहने अपेक्षा गरिएको छ ।