शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवा बाढी

धादिङका निजी विद्यालयका २४२ परिवार बाढीबाट प्रभावित, ३५ विद्यार्थीले गुमाए अभिभावक

धादिङका निजी विद्यालयका २४२ परिवार बाढीबाट प्रभावित, ३५ विद्यार्थीले गुमाए अभिभावक

आशिष ठकुरी

७, आश्विन २०८३
  • 2.4K
    SHARES
  • धादिङका निजी विद्यालयका २४२ परिवार बाढीबाट प्रभावित, ३५ विद्यार्थीले गुमाए अभिभावक

    भदौ १० गते आएको भोटेकोशी बाढी तथा पहिरोका कारण धादिङका निजी तथा संस्थागत विद्यालय (प्याब्सनअन्तर्गत) मा अध्ययनरत विद्यार्थी तथा उनीहरूका परिवार प्रभावित भएका छन् । प्याब्सन धादिङअन्तर्गतका विद्यालयबाट संकलन गरिएको पहिलो चरणको प्रारम्भिक विवरणअनुसार बाढी तथा पहिरोबाट २४२ परिवार तथा विद्यार्थी प्रभावित भएका हुन् । तीमध्ये ३५ जना विद्यार्थीले अभिभावक गुमाएका छन् भने १४२ परिवारका घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, ६५ परिवारका घरमा पानी तथा हिलो पस्दा किताब, कापी, कपडा लगायतका सामग्रीमा क्षति पुगेको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले बताउनुभयो ।

    अभिभावक गुमाएका विद्यार्थीको संरक्षणमा विशेष ध्यान आवश्यक
    प्याब्सन धादिङले बाढी तथा पहिरोबाट अभिभावक गुमाएका ३५ जना विद्यार्थीको अवस्था अत्यन्त संवेदनशील रहेको जनाएको छ । अभिभावकको संरक्षण गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिनु, उनीहरूको मनोसामाजिक अवस्था बुझ्नु तथा आवश्यक पारिवारिक र शैक्षिक सहयोगको व्यवस्था गर्नु सम्बन्धित विद्यालय, स्थानीय सरकार, विद्यालय सञ्चालक, अभिभावक तथा सामाजिक संघसंस्थाको साझा जिम्मेवारी बन्न पुगेको कोषाध्यक्ष सञ्जिव गजुरेलले बताउनुभयो ।
    गजुरेलका अनुसार यी विद्यार्थीलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन शिक्षण–सिकाइ र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

    images
    images

    १४२ घर पूर्ण रूपमा क्षतिग्रस्त
    प्रारम्भिक विवरणअनुसार १४२ परिवारका घर पूर्ण रूपमा क्षति भएका छन् । घर गुमाएका परिवारका विद्यार्थीहरूलाई विद्यालय जान, अध्ययन सामग्री सुरक्षित राख्न तथा नियमित शैक्षिक गतिविधिमा सहभागी हुन थप कठिनाइ उत्पन्न हुन सक्ने देखिएको प्याब्सन धादिङले जनाएको छ । यस्ता परिवारलाई राहत सामग्री, अस्थायी आवास, शैक्षिक सामग्री तथा आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको समन्वय आवश्यक रहेको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टको भनाई छ ।

    यस्तै घर पूर्ण रूपमा क्षति नभएपनि बाढीका कारण दैनिक जीवन र विद्यार्थीको अध्ययनमा प्रत्यक्ष असर परेको भन्दै प्याब्सन धादिङका अध्यक्ष भट्टले यस्ता विद्यार्थीलाई नयाँ किताब–कापी, पोसाक, झोला तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विद्यालय र सहयोगी संस्थाहरूले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    राहत तथा पुनःस्थापनामा प्याब्सनको भूमिका
    बाढीपीडित विद्यार्थी तथा परिवारको अवस्था पहिचान गर्न गरिएको पहिलो चरणको आँकलनले प्रभावित परिवारको वास्तविक आवश्यकताअनुसार सहयोगको योजना बनाउन आधार प्रदान गरेको छ । आगामी चरणमा थप विवरण संकलन, क्षतिको प्रमाणीकरण तथा प्रभावित विद्यार्थीको आवश्यकताअनुसार राहत वितरणको कार्यलाई अगाडि बढाउनुपर्ने देखिएको कोषाध्यक्ष सञ्जिव गजुरेलको भनाई छ ।

    प्याब्सनअन्तर्गतका विद्यालय, स्थानीय तह, सामाजिक संघसंस्था, सहयोगी व्यक्ति तथा सरोकारवाला निकायबीच सहकार्य गरी प्रभावित विद्यार्थीलाई अध्ययनबाट वञ्चित हुन नदिने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - ०८:४५:२८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology