धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ स्थित कालिका माध्यमिक विद्यालयका ४२७ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ । कार्यक्रममा २१० जना स्पोन्सर बालबालिकालाई सिलाइ गरिएको विद्यालय पोशाक र स्टेसनरी सामग्री वितरण गरिएको हो ।
त्यस्तै, अन्य २१७ जना बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरिएको छ । कार्यक्रममा विद्यालयका लागि विपद् जोखिम न्यूनीकरण (DRR) सम्बन्धी सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राजकुमार श्रेष्ठ, प्रधानाध्यापक राजेन्द्र कोइराला, सहायक प्रधानाध्यापक आसन चेपाङ, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी प्रयास नेपाल धादिङकी सदस्य ईश्वरीमाया चेपाङ, चाइल्डफन्ड जापानका स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल तथा SAFE परियोजनाका प्रबन्धक सन्तोष सत्याल, कर्मचारी सुमि श्रेष्ठ र सुमित्रा चेपाङको समेत उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरणले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।