गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् । फाउण्डेशनले सिरानचोक र अजिरकोट गाउँपालिकाका चार विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी २६६ जना विद्यार्थीलाई ट्र्याक सुट, टी-सर्ट तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
सिरानचोक गाउँपालिका–८ स्थित परोपकार आदर्श माध्यमिक विद्यालय, सत्यवती प्राथमिक विद्यालय र फिनाम आधारभूत विद्यालय तथा अजिरकोट गाउँपालिका–४ सिम्जुङस्थित चन्द्रकला आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष राधा सापकोटा ढकाल, कार्यकारी सदस्य अनिशा अधिकारी, सिरानचोक–८ का वडाध्यक्ष दलमान गुरुङ र परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र दवाडीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।
फाउण्डेशनकी अध्यक्ष ढकालले बालबालिकामा गरिएको लगानीले भविष्यमा समाज र देशको मुहार फेर्न सहयोग पुग्ने बताइन् । विद्यार्थीलाई उपलब्ध गराइएको न्यानो कपडा र शैक्षिक सामग्रीले उनीहरूको आत्मविश्वास बढाउनुका साथै सिकाइ प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरेको उनले बताइन् ।
सिरानचोक–८ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान गुरुङले विद्यार्थीका लागि सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिँदै हाल कक्षा सातसम्मका विद्यार्थीलाई लक्षित कार्यक्रम कक्षा १२ सम्म विस्तार गर्न आग्रह गरे । स्थानीय तहको अधिकार क्षेत्रभित्र विद्यालय शिक्षा रहे पनि पर्याप्त स्रोतसाधनको अभावमा विद्यार्थीका आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको उनले बताए । सामाजिक संघसंस्थाबाट हुने सहयोगले विद्यार्थीको हौसला र आत्मविश्वास बढाउने उनको भनाइ थियो ।
परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक दवाडीले फाउण्डेशनको सहयोगलाई पुण्य र प्रेरणादायी कार्यका रूपमा लिएको बताए । बालबालिकाको सिकाइ प्रक्रियामा समाजका सबै तहबाट सहयोग हुन सके दक्ष र आत्मनिर्भर नागरिक तयार गर्न मद्दत पुग्ने उनले उल्लेख गरे ।
त्यस्तै, अजिरकोट–४ सिम्जुङस्थित चन्द्रकला आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जंगबहादुर गुरुङले विद्यार्थी सङ्ख्या कम भएको भन्दै पर्याप्त अध्ययनबिना विद्यालय मर्ज गर्न नहुने बताए । पहुँचयुक्त विद्यालयमा निःशुल्क शिक्षा पाउनु बालबालिकाको मौलिक हक भएको उल्लेख गर्दै उनले संघीय व्यवस्थापछि पनि स्थानीय सरकारले माध्यमिक तहसम्मको शिक्षा सञ्चालनमा पूर्ण स्वायत्तता पाउन नसकेको गुनासो गरे ।
फाउण्डेशनले उपलब्ध गराएको सामग्री विद्यार्थी र विद्यालयका लागि महत्त्वपूर्ण सहयोग भएको उनले बताए । सो अवसरमा स्थानीय समाजसेवी चन्द्रबहादुर गुरुङले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।