नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई पार लगाउन निर्वाचन नै उत्तम विकल्प रहेको बताएका छन् । बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले देश अहिले अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेकाले यो अवस्थाबाट देशलाई पार लगाउन निर्वाचन नै उत्तम विकल्प भएको बताएका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको र संविधानलाई सही ट्र्याकमा फर्काउनका लागि सरकार निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाई छ । निर्वाचन हुन्छ, निर्वाचन हुनै पर्छ, संसद् पुनस्थापना विकल्प हो तर अहिलेको अवस्थामा निर्वाचन उत्तम विकल्प रहेको प्रचण्डले बताए ।
प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने रुचि नरहेको भन्दै जनताको सेवकको रूपमा सधैं काम गर्ने इच्छा आफूमा रहेको बताए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको उनको भनाइ थियो । यस्तै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आफू प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै बैठक बसेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अब बुढिगण्डकी बनाउन पहल गर्ने बताए ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बेनिघाट रोराङ गाउँपालिकाको काम तथा क्रियाकलाप अन्य पालिकाहरुलाई सिकाई हुने बताए ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले घेरो फाटेको टोपि र कछाड, चोलो र फरिया लाउन सक्ने, दुइछाक खान पुग्ने अवस्थामा गाउँ पालिकाबासीलाइ पुर्याउन लागिरहेको बताए । एक वडा एक आवासिय विद्यालय बनाउँदै पचास वर्षपछिको लागि सपना देखेर विकास र समृद्धिका लागि काम गरेको अध्यक्ष थपलियाको भनाई छ ।