धादिङको गजुरी गाउँपालिका–५ स्थित पिंडा स्वास्थ्य चौकी नजिकै च्याङ्ली देउराली कुसुण्डे जंगल क्षेत्रमा प्लास्टिकमा प्याक गरेर फालिएको अवस्थामा आज बिहान एक नवजात शिशु फेला परेको छ । स्थानीयले जंगलको गोरेटो बाटोमा शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थलमा पुगेर शिशुको सकुशल उद्धार गरेको हो ।
उद्धारपछि एक दिन अघि जन्मिएको जस्तो देखिने शिशुलाई प्रारम्भिक उपचारका लागि पिंडा स्वास्थ्य चौकी लगिएको छ । सामान्य स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गजुरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलको गोरेटो बाटोमा फेला परेको नवजात शिशु छोरी रहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। शिशुलाई कसले र किन जंगलमा फालेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। तस्वीर : गोविन्द लामिछाने