जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गल्छी गाउँपालिकाले जितेको छ । बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटार खेलमैदानमा सञ्चालन भएको फाइनल खेलमा धुनीबेसी नगरपालिकाले दिएको १०७ रनको लक्ष्य गल्छीले १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्दै उपाधि हात पारेको हो । उत्कृष्ट प्रदर्शनसहित जित हासिल गर्दै गल्छी प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।
उपाधिसँगै गल्छीले नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता धुनीबेसीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्द ले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा सेमिफाइनलमा रोकिएको बेनीघाट रोराङ गाउँपालिकाका खेलाडी एञ्जल सिलवाल उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भए । उनले प्रतियोगिताभर २०७ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका हुन् । उत्कृष्ट ब्याटर घोषित सिलवाललाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले ब्याट प्रदान गरेका छन् ।
त्यस्तै दिपेश सेडाईले १२.४ ओभरमा १२ विकेट लिँदै ५.२९ इकोनोमीका साथ उत्कृष्ट बलरको उपाधि जितेका छन् । पुरस्कार वितरण समारोहका अवसरमा जिल्ला क्रिकेट संघ धादिङ ले धादिङ समाज अमेरिका र धादिङ समाज जापान को सहयोगमा प्रदेश स्तरीय प्रतियोगिता खेलिसकेका सिद्धलेक गाउँपालिका निवासी सानीया गिरी र नीलकण्ठ नगरपालिकाकी अप्सरा मगर लाई क्रिकेट खेल सामग्री प्रदान गर्दै सम्मान गरिएको थियो ।